Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan
November 3, 2023November 3, 2023

संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला

Spread the love

पहिलो संस्करण: शिक्षा र राजनीति

“गगन जी, तपाईहरुले त देशको शिक्षा क्षेत्रलाई तहसनहस नै बनाउनु भयो नि!”

प्रिय गगन,

मैल ४२ सालमा सिद्धार्थ बनस्थली बाट एस.एल.सी. दिंदै गर्दा सायद तिमी चार कक्षामा पढ़थौ | एकै बिद्यालयमा पढेको नाताले मैले तिमी भनेर सुरुवाती सम्बोधन गरें |  म्याग्दीको यौटा दुर्गम गाउँमा जन्मे पनि तीन दिन हिडेर पोखराको गण्डकी आवाशीय बिद्यालय हुदै राजधानीको बनस्थली स्कुलमा पढ्ने मौका बुवामुवाले जुराइदिनु भयो, त्यसैले त यो पत्र लेख्ने हैसिएत सम्म कमाएको छु | बिद्धार्थी जिबनमा हामी बीच कहिले पनि परिचय नभएको र तिम्रो राजनैतिक व्यक्तित्व, हैसिएत, पहिचान र सम्भावनाको उच्च कदर गर्दै यस पछीका हरफमा तपाई नै भनेर सम्बोधन गर्न उपयुक्त थान्छु |

मुलुकको अहिलेको असहज आर्थिक स्थितीलाई दिर्घकालिन रुपले सम्बोधन गर्न ब्यापक आर्थिक सुधार अत्यावश्यक छ | नब्बेको दशकमा सुरु गरिएको पहिलो चरणको आर्थिक सुधार राजनैतीक संक्रमणको कारणले लामो समय छाँयामा पर्न गयो | अब दोस्रो चरणको आर्थिक सुधार यथासिघ्र सुरु गर्नु पर्छ जसलाई मैले “सम्रचनात्मक सुधार २.०” को संग्ज्ञा दिएको छु | यो सुधार अन्तर्गत प्राथमिकताको आधारमा मुलुकको महत्वपूर्ण क्षेत्रलाई गतिशिल र उत्पादनशिल बनाउन आवश्यक निति तथा नियम तत्काल निर्माण गरी कार्यन्वयन गर्न आवश्यक छ | अन्यथा देश एक पछी अर्को आर्थिक जतिलताको भुमरीमा निरन्तर फसिरहने जोखिम रहन्छ |

यसै प्रसंगमा बिबिध क्षेत्रका अगुवाहरुलाई खुलापत्र मार्फत “सम्रचनात्मक सुधार २.०” अभियान अन्तर्गत गंभिर बिषयहरु उठान गर्ने र सो क्षेत्रको सुधार र परिवर्तनको लागि आह्वान गर्ने उद्देश्य अनुरुप यो शृंखलाको सुरुवात तपाईबाट गर्दैछु | वास्तबमा यो पत्रमा राजनीति संग जोडिएका मुलुकका अनेकन महत्वपुर्ण अन्तरनिहित बिषयहरु समेट्ने इक्षा थियो | तर यौटा पत्रमा एकै पटक धेरै बिषय समेट्न खोज्दा संदेश प्रवाह प्रभावकारी नहोला | त्यसैले आज म हाम्रो राजनैतिक प्रणाली र शिक्षा क्षेत्र बीचको अन्तरसम्बन्ध र केही समय अगाडी सम्पन्न उपनिर्वाचनको नतिजाले उजागर गरेको केही महत्वपूर्ण पक्षमा केन्द्रित भएर मेरा केही व्यक्तिगत बिचार, अवलोकन, अनुभब र अवधारणा प्रस्तुत गर्न चाहन्छु | तपाईको राजनैतिक सान्दर्भिकता र मेरो बैचारिक क्षमता रहे सम्म भबिष्यमा पनि पत्र लेखन मार्फत राजनीति संग जोडिएका महत्वपूर्ण बिषयहरुमा आफ्ना बिचार पोख्ने अपेक्षा गरेको छु | आशा गरौँ यो अभ्यास नौलो भए पनि रचनात्मक, विचारणीय, सान्दर्भिक र परिवर्तन उत्प्रेरक हुने छ |  

मुलुकको राजनैतिक अवस्था प्रति अत्यास लाग्दा तपाईलाई सम्झेर चित्त बुझाएको दिनहरु धेरै छन् | मुलुकको आर्थिक तथा राजनैतिक परिवर्तनको परिकल्पना गर्दा आँखामा स्वस्फुर्त आउने पहिलो मुहार तपाई | लाग्छ मेरो यो अनुभूतिले देशको ठुलो जमातलाई प्रतिनिधित्व गरेको छ | नेपाली जनताले तपाईलाई भाबि प्रधानमन्त्रीको रुपमा हेरेको छ, मैले पनि त्यो क्षमता तपाईमा देखेको छु | लामो समय देखि युबा पिढीले तपाईलाई परिवर्तनको मियो र भरोसाको रुपमा हेरेको छ, मैले पनि हेरेको छु |

तर अब म युबा रहिन | मेरो छोरी अठार बर्ष पुगेर मतदाता बनेकी छिन् | मेरो छोरा पनि दुई बर्ष पछि मतदाता बन्दै छ | त्यसैले मलाई अब मेरो सन्तानको भविष्य प्रति बढी चिन्ता छ | तर दुबै जनाले काठमाडौँको राम्रो बिद्यालयमा पढेकोले साएद भबिष्यमा आफ्नो लागि केही अवश्य गर्लान | त्यसैले उनीहरुको भबिष्य प्रति केही हद सम्म निश्चिन्त पनि छु |

तर तपाई हामी जस्ता केही आर्थिक हैसिएत भएका मध्यम बर्गीय परिवारले आफ्नो सन्तानको भबिष्य प्रति केही आशाबादी हुदै गर्दा देश र आम युबाको भबिष्य प्रति आशाबादी हुने अवस्था भने रत्तिभर छैन | हरेक नागरिकको भबिष्य निर्माणको पहिलो पाइला शिक्षा बाटै सुरु हुन्छ | राज्यको निर्बिकल्प प्रथम कर्तब्य भने कै गुणस्तरीय स्वास्थ सेवा र शिक्षामा आमनागरिकको सहज पहुँचको सुनिश्चितता हो | तर के हाम्रो राजनैतिक प्रणाली र राज्य व्यवस्थाले यो आधारभूत नैसर्गिक हक सुनिश्चित गरेको छ त? यो पत्रमा मैल उठान गर्न खोजेको गम्भीर प्रश्न नै यही हो |

नेल्सन मन्डेलाले यदी राज्यले आफ्ना नागरिकलाई गर्ने व्यवहार हेर्ने हो भने जेल प्रसाशनले कैदीलाई गर्ने व्यवहार हेर्नु पर्छ भन्थे, म चाँही के भन्छु भने यदी कुनै देशको संस्कार र मनोवृत्ति तथा वर्तमान र भबिष्य हर्ने हो भने त्यो देशको शिक्षाको अवस्था हेर्नु पर्छ भन्छु | हाम्रो मुलुकको शिक्षण संस्थामा टाङ्गिने अराजक र भद्दा नाराले भरिएको टुल, कार्यालय तथा कक्षा कोठामा नियमित तथा निरन्तर रुपले गरिने दल पिच्छे तालाबन्दी, शिक्षक तथा प्रध्यापकको क्षमता र आफ्नो पेशा प्रतिको जवाफहिनताको दयनीय अवस्था र ज्ञान आर्जन गर्ने भन्दा प्रमाणपत्र मात्र लिने विद्यार्थीको नियतले देश र युबाको दुर्दशा छर्लंग हुन्छ | राष्ट्रको सबै भन्दा ठुलो शक्ति – युबाशक्ति – शिक्षा सँग प्रत्यक्ष जोडिएको र सबै भन्दा धेरै बजेट यही क्षेत्रमा परिचालन हुने भएकोले हाम्रो सन्दर्भमा सबै भन्दा धेरै राजनैतिक दुरुप्रयोग भएको क्षेत्र नै शिक्षा हो |

कुनै कालखण्डमा निरंकुस राजनैतिक प्रणाली बिरुद्ध शिक्षा क्षेत्रमा केही हद सम्मको राजनीतिकरण आवश्यक थियो र राजनैतिक व्यवस्था परिवर्तनको लागि विद्यार्थी आन्दोलन र सहभागिताको भूमिका अत्यन्तै महत्वपुर्ण रह्यो | छयालीस सालको आन्दोलनमा विद्यार्थीको सहभागिता नभएको भए अनेपेक्षित ढंगले त्यति छिटो प्रजातन्त्र पुनर्स्थापना हुने थिएन | सो क्रममा स्वाभाविक रुपमा देशभरका कलेज र विश्वबिद्यालयका विभिन्न राजनैतिक दलका भ्रातृ  विद्यार्थी संगठनको भूमिका महत्वपुर्ण रह्यो | तर कुनै राजनैतिक पार्टी प्रतिको आस्था र आबद्धता बिना पनि हामी जस्ता असंख्य युबाहरु स्वस्फुर्त ढंगले छयालीस सालको आन्दोलनमा होमिएका थियौं | संख्याको हिसाबले त हरेक महत्वपुर्ण जनआन्दोलनमा स्वाभाविक रुपले राजनैतिक दलमा आबद्ध हुने विद्यार्थी भन्दा आम-विद्यार्थी नै अत्याधिक हुन्छन् |

प्रजातन्त्र पुनर्स्थापना पछि मात्रै तपाईको सक्रिय राजनैतिक विद्यार्थी जिबन सुरु भएको हुनुपर्छ | तपाईको सभापतीले कांग्रेसका कार्यकर्तालाई गाउँ गाउँमा गएर नेपाली विद्यार्थी संगठन बिस्तार गर्न बारम्बार आह्वान गरेको सुन्छु, देख्छु | दलीय स्वार्थको लागि विश्वबिद्यालयको नेतृत्व र व्यवस्थापन राजनैतिक कार्यकर्तालाई नै जिम्मा दिनु पर्ने र विद्यार्थीलाई दलीय कार्यकर्ता बनाउनै पर्ने सोच, पद्धति, संस्कार र प्रणालीले हाम्रो सार्बजनिक शिक्षा तहस नहस भैसकेको छ | शिक्षा क्षेत्रको यही नाजुक स्थितिले गर्दा प्रति दिन २२ सय युबा रोजगारीको लागि र तीन सय बिद्धार्थी उच्च शिक्षाको लागि बिदेशिनु परेको र ती मद्दे केही त उक्रेन-रसिया बीचको युद्धमा सरिक हुँदा ज्यान पनि गुमाइसकेको अत्यन्तै कारुणिक अवस्था छ | आदर्श भरिएको नेताहरुको चर्को भाषणले युबाहरुको भबिष्य सुनिश्चित हुदैन | युबाको भबिष्य प्रति साच्चै नै गम्भीर र संबेदनशील हुनु हुन्छ भने शिक्षा क्षेत्रलाई गैर-राजनीति क्षेत्र घोषणा गर्नुस, शिक्षा क्षेत्रको अधिकांश समस्या समाधान हुँदै जान्छ |

के राजनैतिक दलका केही विद्यार्थी नेता उत्पादन गर्नलाई लाखौँ विद्यार्थीको भबिष्य बर्बाद हुने गरेर शिक्षा क्षेत्रमा यो हद सम्मको राजनैतिक अतिक्रमण उचित हो? राजनीतिको नाममा विद्यार्थी र शिक्षण संस्थालाई कहिले सम्म बन्धक बनाउने र दोहन गरिरहने? आम जनताको छोराछोरी पढ्ने बिद्यालय, कलेज र विश्वबिद्यालय राजनैतिक स्वार्थको लागि परिचालन गर्ने पद्धतिले युवाहरुको भबिष्य ध्वस्त हुँदै गर्दा तपाईहरु जस्ता राजनैतिक कर्मीलाई आत्माग्लानि हुदैन? यो भन्दा गम्भीर मानबिय अधर्म के हुन सक्छ? के हाम्रा युबालाई बिना अवरोध गुणस्तरीय शिक्षा हासिल गर्ने अवसर दिएर शिक्षित, सक्षम र असल नागरिक बनाउने बेला भएन र? हाम्रा युबाहरुलाई विश्वस्तर कै सक्षम र प्रतिस्प्रद्धी बनाउनु पर्ने बेलामा युबा शक्तिलाई नै क्षयिकरणको बाटो तिर धकल्ने यो पद्धतिलाई कहिले सम्म निरन्तरता दिइरहने?

भारत र बंगलादेश जस्ता देशमा पनि शिक्षा क्षेत्रमा राजनैतिकरण छ भनेर हुँदैन | त्यहा राजनैतिकरण भए पनि नेपाल जस्तो बिधार्थीको भबिष्य माथि नै खेलबाड हुने गरी अति-राजनैतिकरण छैन | भारतमा एकातिर आफ्नो सुबिधा अनुसार शिक्षण संस्था रोज्ने मनग्गे विकल्प छ भने अर्को तिर पढाईलाई नकारात्मक असर पार्ने गरी प्रतिगामी शैलीको राजनीति हुदैन | अझ  गहन कुरा त के हो भने बिगतमा भएको विकासको सुस्त गतिलाई परिपूर्ति (क्याच अप) गर्नलाई पनि शिक्षा क्षेत्रमा हामीले भारत र बंगलादेश भन्दा धेरै लगानी र प्रगति गर्नु छ | यसको लागि सबै भन्दा प्रभावकारी पहल भनेको राजनीति रहित गुणस्तरीय शिक्षाको सुनिश्चितता हो | आजको शिक्षाको प्रमुख उदेश्य भनेको विश्व स्तरको मानब पुँजी निर्माण गर्नु हो | हाम्रा विद्यार्थीहरुलाई आफ्ना कक्षाका सहपाठी संग मात्र होइन, विश्वभरका बिधार्थी संग प्रतिस्प्रधा गर्न सक्ने वातावरण र क्षमता अभिवृद्धिको अवसर र लगानी चाहिएको छ |

केही समय अगाडी घाना बिश्वबिद्यालयको एक कार्यक्रममा अफिका पुगेको थिएँ | अफ्रिकाले पनि शिक्षा र बिकासमा हामीलाई पछाडी छोडेको देखेर मन खिन्न भयो | घाना बिश्वबिद्यालयमा रत्तिभर राजनैतिक हस्तक्षेप रहेनछ | उपकुलपति सक्षम व्यक्तिलाई र कुलपति समाजको प्रतिष्ठित व्यक्तित्वलाई बनाइदो रहेछ | व्यवस्थित, अनुशासित, सफा, निजि क्षेत्रले संस्थापना गरेको जस्तो कुनै बिकसित राष्ट्रको विश्वबिद्यालय जस्तो लाग्ने अफ्रिकी बिश्वबिद्यालय देखेर सकारात्मक इर्ष्या लाग्यो | विश्वबिद्यालय भित्र त्यहाँ कुनै पनि राजनैतिक पार्टीको भ्रातृ  संगठनको अस्तित्व थिएन |

एक चोटी हाम्रो शिक्षा क्षेत्र र राजनैतिक प्रणालीलाई जोडेर हेरौं | तपाईले आफ्नो राजनैतिक यात्रा विद्यार्थी जीवन बाटै सुरु गरेको हो | नेपाली कांग्रेसका अधिकांस नेताहरु बिगतमा नेपाल बिधार्थी संगठन संग जोडिएका होलान | यही अवस्था एमालेमा पनि छ | पार्टीका कार्यकर्ता बीच बिरिष्ठताको संस्कार, हक्दारिताको मानसिकता र नेता रिझाई जस्ता बेथिति यही बेला देखि बिजारोपन हुन्छ र प्रतिभा तथा क्षमता जस्ता महत्वपुर्ण बिषय गौण भएर जान्छ | आ-आफ्ना भ्रातृ  संगठनलाई सक्रिय र सुदृध बनाउने चक्करमा आम बिधार्थीको हित र भविष्यलाई सिमान्तकृत गर्दै राजनैतिक दलको स्वार्थलाई प्रबर्धन गरिएको छ | विद्यार्थी जिबन देखि नै राजनीति गर्नु छ भने राजनीति शास्त्र पढेर सभ्य ढंगले राजनैतिक अभ्यास गरे अर्थपूर्ण हुनेछ | तर बिडम्बना के छ भने शिक्षा क्षेत्रमा राजनैतिक अतिक्रमण बढ्दै जाँदा राजनीति शास्त्र पढ्ने विद्यार्थीको संख्या भने बर्षेनी घट्दो छ |

विभिन्न बहानामा राजनैतिक दलको विद्यार्थी भ्रातृ संगठन पिच्छे विश्वबिद्यालयमा तालाबन्दी गर्ने होड बर्षौं देखि निरन्तर चलिरहेको छ | उपकुलपति धर्मकान्त बास्कोटाले आफ्नो चार बर्षको कार्यकालमा ४०७ दिन उपकुलपतिको कार्य कक्षमा तालाबन्दी खेप्नु पर्यो |  राजनैतिक अतिक्रमणको कारण विश्वबिद्यालय नेतृत्व बिहिन हुने घटना सामान्य बनेको छ | केही दलीय विद्यार्थी नेता जन्माउने र राजनैतिक अभ्यास गराउने क्रममा लाखौँ युबाहरुले गुणस्तरीय र नियमित शिक्षा बाट बन्चित हुनु पर्ने अवस्था दुर्भाग्यपूर्ण हो | विद्यार्थीको संख्याको हिसाबले विश्व कै सबै भन्दा ठुलो त्रिभुवन बिश्वबिद्यालय (त्रिवि) विश्वको सबै भन्दा धेरै राजनैतिक अतिक्रमण हुने र केवल शैक्षिक प्रमाणपत्र बाड्ने थलोको रुपमा अवमुल्यन भएको छ | पढाई पुन: सुचारु गर्ने उद्देश्यले विद्यार्थी संगठनहरुले लामो समय देखी लगाएको ताला खोल्ने प्राध्यापकलाई मरणासन्य हुने गरी भौतिक आक्रमण गरेको अदालतमा बिचराधिन मुद्दाको प्रकृयालाई अवमुल्यन गर्दै सो घटनाको दोषिलाई सरकारले नै उन्मुक्ती दिने निर्णयले कानुनी राज्यको उपहास गरेको छ |

सन् २०१० तिरको कुरा हो, नियमित जागिर छोडे पछी पढाई फेरी सुरु गर्ने इक्षा जागेको थियो | त्यसैले त्रिभुवन विश्वविद्यालयमा ब्यवस्थापनको एमफिल डिग्री सम्बन्धी बुझ्न गएको थिएं | सो कार्यक्रम बारे बुझ्ने क्रममा एकजना कर्मचारी सँग एमफिलको पाठ्यक्रम (सिलेबस) के मागेको थिएं “त पढ्न आएको होइनस्, तैले पढ्दैनस्, यहाँ बाट निस्कि हाल” भनेर नराम्रो सँग हकारेका थिए | हाम्रा सरकारी शिक्षण संस्थाहरु यस्तै सोच, प्रवृत्ति, शैली र आचरण बाट ग्रसित छन् | केही समय अगाडि त्रिवि बाट समानता प्रमाणपत्र लिन खेप्नु परेको सास्ती र अपमान बारे एक जनाले सामाजिक सन्जालमा पोखेको गुनासो निक्कै भाइरल भएको थियो | हाम्रो परिपेक्षमा यस्ता घटनाहरु सामान्य भएका छन् | विश्वका विभिन्न बिश्वबिद्यालयको पछिल्लो मुल्यांकनमा छ दशक भन्दा लामो इतिहास बोकेको त्रिबिको बरियातक्रम थप खस्किएर आठ सय देखि एक हजारबाट बाह्र सय देखि पन्ध्र सयको सुचीमा परेको छ |

नेपालका एक चर्चित अर्थशास्त्री, त्रिबिका प्रोफेसरको रुपमा नियमित सरकारी तलब बुझेर पनि अधिकांश समय दात्रि संस्थाको परामर्शदाताको रुपमा समय बिताउने र कहिले काही कक्षामा झुल्कन्दा आफु दात्रि संस्थाको ठुला आयोजनामा संलग्न भएको र उनको उपस्थिति आफैमा बिधार्थीहरुको लागि ठुलो अवसर भएको घमण्ड छांटि रहन्थे | तर देशकै प्रतिष्ठित तथा सम्मानित अर्थशास्त्रीको रुपमा उनले दात्रि संस्थाको प्रतिबेदन उधृत गर्नु बाहेक देशको आर्थिक बिकासको लागि मौलिक बिचार प्रस्तुत गरी महत्वपुर्ण योगदान गरेको सम्झना छैन | पछिल्लो चरणमा ठुलो राजनैतिक पार्टी संगको संलग्नता कै आधारमा बिना कुनै क्षमता तथा मापदण्ड विश्वविद्यालयको प्रोफेसर जस्तो गरिमामय तथा सम्मानित पदमा नियुक्ति गर्ने अभ्यास अत्यन्तै प्रत्युत्पादक, अनुचित तथा अन्यायपूर्ण छ | त्यस्तै गरेर अधिकांश विद्यार्थी सिक्न तथा विद्या हासिल गर्न होइन डिग्री लिन भर्ना भएका छन् र सो प्राप्तिको लागि जे हर्कत गर्न पनि तयार छन् | यस्ता अनगिन्ति विसंगतिबाट मुलुकको शिक्षा कसरी उकास्न सकिएला र? 

सन् २००० को दशकको सुरु तिर सरकारी जागिरमा नक्कली शैक्षिक प्रमाणपत्रको ब्यापक दुरुप्रयोग भएको प्रकरण निक्कै चर्चामा आएको थियो तर सो सम्बन्धी अनुसन्धान तथा कारबाही बीच मै तुहाइएको थियो | जनताको जीवन सँग प्रत्यक्ष जोडीएको स्वास्थ्य सेवा जस्तो सम्बेदनशिल क्षेत्रमा पनि नक्कली प्रमाणपत्रधारीको सन्जाल ब्यापक छ | केही समय अगाडि एक सांसद सहित केही नक्कली डाक्टर समातिए लगत्तै सात जना २८ देखी ३४ बर्ष उमेरका भर्खरका युबाहरु डाक्टर डिग्रीको नक्कली प्रमाणप्रत्रको मुद्दामा समातिएका छन् | यसरी बर्षऔं अगाडि पहिचान भएको अपराधलाई निरुत्साह हुने गरी कारबाही नहुँदा युबाहरु अहिले पनि नक्कली प्रमाणपत्र धारण गरी जघन्ण्य अपराध गर्न अग्रसर छन् | यस्तो गम्भिर अपराधलाई पनि ब्यक्तिगत स्वार्थ तथा दलगत सुबिधाको लागि राजनैतिक सम्रक्षण दिने यो हद सम्मको नैतिक पतनलाई के भनौं, तपाईं त स्वास्थ्य मन्त्री पनि भएको नेता हो |

बिगतको राजनैतिक परिवर्तनमा विद्यार्थी आन्दोलनले गरेको योगदानको एकहोरो रटान छाँटेर राजनैतिक स्वार्थको लागि बिश्वबिद्यालय जस्तो पबित्र थलो र शिक्षा जस्तो आधारभूत क्षेत्रको निरन्तर दोहन गर्ने छुट कसैलाई हुँदैन | नयाँ राजनैतिक पार्टीले शिक्षा क्षेत्रमा भएको यस्ता बेथिति बिरुद्ध आम-बिधार्थी, शिक्षक र प्राध्यापकलाई प्रोत्साहित र परिचालन गर्न सके, शिक्षा क्षेत्रको सुद्धिकरण र रुपान्तरण सम्भब छ | निरङ्कुश राजनैतिक व्यवस्था परिवर्तन भैसकेको अवस्थामा शैक्षिक क्षेत्रमा यो हद सम्मको राजनैतिक अतिक्रमण र अराजकता अत्यन्तै प्रत्युत्पादक भएको छ |

सबै भन्दा धेरै सरकारी कर्मचारी शिक्षा क्षेत्रमा छ, त्यसैले सबै भन्दा धेरै बजेट पनि शिक्षा क्षेत्रलाई नै जान्छ | तर शिक्षा क्षेत्रको अवस्था दयनीय छ | अधिकांश सरकारी शिक्षकको न पढाउने क्षमता छ न क्षमता नै अभिवृद्धि गर्न सकिन्छ | दुखदको साथ भन्नु पर्छ हाम्रा शिक्षकहरु राज्यको लागि ठुलो आर्थिक दायित्व पुष्टि भएका छन् | यस्ता शिक्षक बाट गुणस्तरीय शिक्षा आशा गर्न सकिने कुनै अवस्था छैन | त्यसैले त एकातिर असक्षम शिक्षकलाई राजनैतिक सम्रक्षण चाहिएको छ भने अर्कोतिर हरेक सार्बजनिक बिधालयहरुमा दलगत भागबण्डाको आधारमा संचालक सिमित गठन हुने गरेको छ | निश्वार्थ र सक्षम व्यक्तिले कुनै पनि राजनैतिक दल संग आबद्ध नभएकै कारणले शिक्षा क्षेत्रमा योगदान दिन सक्ने अवस्था छैन | असक्षम शिक्षक र राजनैतिक अतिक्रमणको घातक समिश्रणले हाम्रो शिक्षा प्रणाली लगभग ध्वस्त भैसकेको छ |

केही समय अगाडी विभिन्न राजनैतिक भातृ शिक्षक संघको नेतृत्वमा सडक आन्दोलन भयो | नयाँ गणतान्त्रिक संविधानले प्रदत्त गरेको स्वस्थ तथा शिक्षा जस्ता आधारभूत सामाजिक सेवा स्थानिय सरकार मातहातमा राख्ने व्यवस्था बिरुद्ध गरिएको आन्दोलन प्रतिगामी र संबिधान बिपरित थियो | सार्बजनिक शिक्षाको सबै भन्दा ठुलो समस्या भनेको शिक्षकको असमक्षमता र राजनैतिक सम्रक्षणमा हुने जवाफहिनता हो | त्यसैले सार्बजनिक विद्यालय बिधार्थीको अभाबले रित्तिने क्रम बढेको छ | अधिकांश गाउँ पालिकाको करिब एक चौथाई बजेट शिक्षामा खर्च हुने तर शिक्षालाई केन्द्रिय प्रणाली भित्रै निरन्तरता दिनु पर्ने माग कदाचित न्यायोचित होइन |

संरचनात्मक सुधार २.० को एउटा महत्वपुर्ण पक्ष भनेको शिक्षा क्षेत्रको रुपान्तरण हो | शिक्षा क्षेत्रको रुपान्तर बिना देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रुपान्तर सम्भब छैन | करिब करिब सत प्रतिशत नेता, कार्यकर्ताहरु र राज्यको जनशक्ति (ब्युरोक्रेसी) हाम्रै शिक्षा प्रणाली बाट उत्पादित जनशक्ति भएकोले पनि शिक्षा क्षेत्रको रुपान्तरण यथाशिघ्र अपरिहार्य छ | अहिले कै शिक्षा प्रणाली बाट उत्पादित लोकसेवा जस्तो घोक्ने प्रतियोगिता बाट छनौट हुने जनशक्ति बाट मुलुक सम्बृद्ध हुन सम्भब छैन | परिक्षा मार्फत स्मरण गर्न सक्ने क्षमता मापन गर्ने शिक्षा प्रणालीलाई विस्थापन गर्दै रचना गर्ने, सोच्ने र प्रश्न गर्ने क्षमता अभिवृद्धि गर्ने; अनुसन्धान तथा खोज गर्न प्रेरित गर्ने; जीवन कौसल सिकाउने र सिप बिकास गर्ने शिक्षा प्रणाली स्थापित गर्न आवश्यक छ | शिक्षा क्षेत्रमा ब्याप्त अतिराजनीतिकरणको अन्त्य नै शिक्षा क्षेत्रको रुपान्तरणको पहिलो खुड्किलो हो |

छिमेकी राष्ट्र भारत र चीनको उच्च आर्थिक विकासले नेपाललाई छुन सकेको छैन र सम्भबत भबिष्यमा पनि छुने छैन | वास्तबमा यी दुई ठुला छिमेकी राष्ट्रको बृहत आर्थिक विकासले हामी जस्ता साना छिमेकी राष्ट्र माथि नयाँ भू-राजनैतिक चुनौती थपिदै गएको छ | त्यसैले एकातिर भू-परिबेष्तिक मुलुक अर्को तीर भारत र चीन जस्ता ठुला तर अनुदार छिमेकी राष्ट्रहरुको बीचमा च्यापिएको अवस्थामा विश्व अर्थतन्त्र संग प्रत्यक्ष जोडिएर आर्थिक सम्वृद्धि हासिल गर्न सकिने नविनतम उपायहरु खोज्न अपरिहार्य छ | बदलदो भू-राजनीतिले थपेको नयाँ चुनौती र नयाँ प्रबिधिले उघारेको अवसरहरु बीच सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउदै अगाडी बढ्नु पर्छ | यसै प्रसङ्गमा ज्ञान अर्थतन्त्र (नलेज इकोनोमी) तर्फ रुपान्तरण र सीमारहित अर्थतन्त्रको (बोर्डरलेस इकोनोमी) परिकल्पना हाम्रो लागि सान्दर्भिक हुने छ | तर यस्तो महत्वाकांक्षा प्राप्तिको पहिलो निर्बिकल्प आधारभूत आवश्यकता भनेको राजनैतिक हस्तक्षेप बिनाको गुणस्तरीय शिक्षा प्रणालीको सुनिश्चितता हो | 

युवाको भबिष्य तथा किसानको हितमा लगानी गर्नु पर्ने राज्यको सिमित स्रोत र साधन उच्च बर्ग लाभाम्बित हुने बृद्ध भत्ता बाढ्न प्रतिस्प्रद्धा गर्ने देउबा, ओली र प्रचण्ड जस्ता राजनैतिक पात्रबाट देशले आश गर्ने अवस्था छैन | देशले सम्वृद्धिको फड्को मार्ने हो भने यस्ता नेता र प्रवृति अनिवार्य रुपले यथाशिघ्र बिस्थापित हुनु पर्छ | राजनैतिक हक्दारिता र कुनै कालखण्डमा गरेको योगदानको ब्याज खानै पर्ने मानसिकता बोकेका यस्ता पात्रले देशलाई अगाडी बढाउने होइन पछाडी धकेलिरहने छ | हाम्रो परिपेक्षमा क्षमता तथा परिणामलाई भन्दा बारीयाताक्रम र हकदारितालाई उच्च प्राथमिकता दिने संस्कृतिले बृद्धहरुको शासनलाई (जेरोन्टोक्रेसी) बढावा दिइरहेको छ | तर यस्तो नेतृत्व र राजनैतीक प्रणालीले मुलुक रुपान्तर, प्रगतिशिल र सम्वृद्ध हुन नसक्ने सिद्ध भइसकेको छ | नेपाली कांग्रेस र एमालेको आन्तरिक व्यवस्थापनको बेथितिको मूल्य अब देशले चुकाउन सक्दैन | पार्टी सुध्रेला र प्रणालीको सुधार र मुलुकको विकास बिस्तारै हुदै गर्ला भन्ने सुबिधा र छुट अब कसैलाई छैन | जनता आश्वासन होइन, परिणाम र परिवर्तन चाहन्छन् |

युबा संसद सुमना श्रेष्ठले संसदको वास्तविक भूमिका र जिम्मेवारी के हो भनेर म लगाएत आम-जनतालाई पहिलो पटक महसुस गराइदिएका छन्, जनता प्रतिको संसदको जवाफदेहिताको मूल्य बुझाइदिएका छन् | नितान्त आफ्नै क्षमता र मेहनतले विदेशका उत्कृष्ट अध्ययन संस्थाबाट उच्च शिक्षा हासिल गरेका सुमना श्रेष्ठ र स्वर्णिम वाग्ले जस्ता अत्यन्तै क्षमतावान तथा आफ्नो सार्बजनिक भूमिका प्रति इमान्दार प्रतिद्वन्द्वीलाई बिना सडक तथा राजनैतिक संघर्ष टप्किएका अवसरबादी भनेर अवमुल्यन गर्ने संस्कारले प्रगतिशील समाज बन्दैन हजुर! गुणस्तरीय शिक्षाले नै व्यक्तिको सोच, क्षमता, सम्भावना, कार्यकुशलता र इमान निर्धारण गर्ने हो | 

शिक्षा क्षेत्रको सुधार नहुँदा सम्म देश सम्पन्न र सम्बृद्ध हुन सक्दैन | सांस्कृतिक, सामाजिक तथा आर्थिक रुपान्तरको पहिलो पाइला शिक्षा क्षेत्रको सुधार बाटै हुनु पर्छ | राजनैतिक अतिक्रमण कै कारण हाम्रो शैक्षिक अवस्था अत्यन्तै जिर्ण बनेको छ | शैक्षिक क्षेत्रमा सबै थरिका बेथितीले हद पार गरेको छ | तपाईहरु जस्ता नेता, कार्यकर्ता, प्राध्यापक, कर्मचारी, प्रशासन, कथित विद्यार्थी, बिचौलिया र राज्य सबै मिलेर हाम्रा शिक्षण संस्थाहरुलाई निरन्तर दोहन गर्दै खोक्रो बनाएका छन् | यही शैक्षिक प्रणाली रहे सम्म नेपाल खाडी र मलेशिया र केही बर्ष पछि अफ्रिका जस्ता मुलुकको लागि आवश्यक पर्ने अदक्ष श्रमिक उत्पादन गर्ने राष्ट्र भन्दा माथि उठ्न सक्ने छैन र मुलुक युबा बिनाको वृद्धाश्रममा रुपान्तर हुने गम्भिर अवस्थाबाट रोक्न सकिने छैन |

पछिल्लो निर्वाचनमा नसोचेको नतिजा ल्याएका केही नयाँ राजनैतिक दलहरुले शिक्षा क्षेत्रलाई राजनीतिमुक्त क्षेत्र घोषणा गर्दै आम बिधार्थीलाई शिक्षामा केन्द्रित हुन प्रेरित गरेर बिधालयमा हुने राजनीतिलाई निरुत्साहित गर्न सके शिक्षा क्षेत्रको रुपान्तर सम्भब छ | पुराना दल र नेताले आ-आफ्नो बिरासतको कारणले राजनीति रहित शिक्षा क्षेत्र सम्भब नदेख्ने हो र बिगतको अतिक्रमण र अराजक शैलीलाई निरन्तरता दिने हो भने नयाँ पिंढी र युबा आफैले यो विकृत अभ्यासलाई स्वफूर्त ढंगले प्रतिकार गर्दै पुराना दलको अस्तित्वलाई नै असान्दर्भिक नबनाउलान भन्न सकिदैन | अधिकांस परिवर्तन क्रमिक भए पनि केही चाँही अकल्पनीय, आकस्मिक र रुपान्तरकारी हुन्छन् | त्यसैले केही परिवर्तनहरु अपबाद हुन्छन् |

बिगतमा विकल्प नहुँदाको लाभ तपाई सबैले लामो समय सम्म भोगचलन गर्नु भयो, बिशेष गरेर नेपाली कांग्रेसले | ‘कम्युनिज्म’ को “क” पनि सुन्न नचाहने उदार लोकतन्त्रको हिमायती संग गिरिजा र देउबा जस्ता आत्म-केन्द्रित पात्रले निरन्तर पार्टी नेतृत्व गरे पनि र पार्टी भित्र जति सुकै बेथिति भए पनि नेपाली कंग्रेसको विकल्प थिएन | तर अब बिकल्प तयार भएको छ | पार्टीले चयन गरेको वा सभापतीले टिका लगाइदिएकै भरमा नेता बन्न पाइने सुबिधा इतिहास बन्ने क्रममा छ | पार्टीको नेतृत्वलाई रिझाएर र कार्यकर्तालाई खुशी बनाएर निर्वाचनको बेला मात्र आफ्नो निर्वाचन क्षेत्र पस्ने सुबिधा अब नेतालाई हुदैन |

उपनिर्वाचनको बेला तपाईले दिएको आफ्नै अभिव्यक्तिको कारण लोकप्रियताको कसौटीमा जनताले उभ्याई दिएका छन् | चुनाब प्रचार गर्ने क्रममा केही उत्तेजित अभिव्यक्ति स्वाभाविक भए पनि अन्य नेताले दिने अभिव्यक्ति र तपाईले दिने अभिव्यक्तिमा जनताले फरक अपेक्षा गर्नु स्वाभाविक थियो | परिवर्तनको आँधीले बढारिने वा चट्टान सरह अटल रहने तपाईको प्रतिभा, राजनैतिक कुशलता र अनुकूलन क्षमतामा निर्भर हुन्छ | पछिल्लो निर्वाचनमा तपाईको बिपक्षमा रविले कोही पनि नउठाएले तपाईको जित सहज भएको बारे निर्मम आत्मा समिक्षा गर्नु होला किनभने चौरासी सालको चुनाबमा बिशेष अवस्थामा बाहेक यो सुबिधा तपाईलाई पुन: प्राप्त हुने छैन | हेक्का होस् मतदाताको मतदान गर्ने शैली असोचनीय ढंग बाट बदलिने क्रम ह्वातै बढेको छ | बाउबाजेले राजेको चुनाब चिन्हलाई होइन नयाँ सम्भावनालाई मतदान गर्ने क्रम बढेको छ |

अर्थपूर्ण परिवर्तनको लागि मुलुकलाई तपाई चाहिएको छ, विश्व प्रकास चाहिएको छ | नयाँ नेपाल निर्माणको लागि रबि र स्वर्णिम चाहिएको छ, बालेन र हर्क चाहिएको छ | एमाले भित्र मुलुक हाक्न सक्ने गतिशील (क्यारिज्म्याटिक) युबा नेतृत्व अहिले सम्म नदेखिनु अनौठो बिषय होइन | निर्बिकल्प ओली र बरिष्ठताको अनेकन तह भित्र कम्युनिस्ट पार्टीमा युबा नेतृत्व र प्रतिभा पिल्सिएको छ, दबिएको छ | केही समय अगाडी एमाले पार्टीको बिधान बाट ७० बर्षको उमेर हद हटाइनु र तेस्रो कार्यकालको लागि पनि ओलीको बिकल्प नदेखिनुले सो कुराको थप पुष्टि गरेको छ | गगन-विश्वको जोडीले परम्पराबादी राजनैतिक शक्तिलाई समय सान्दर्भिक बनाउन पहल गर्दै गर्दा रबि-स्वर्णिमको जोडीले नयाँ शिराबाट नयाँ राजनैतिक मार्ग कोर्न र निर्दिष्ट गर्न सकिने विकल्प दिएको छ |

वास्तबमा नेपाली कांग्रेसको आन्तरिक सुधार र रुपान्तरणको लागि रबि-स्वर्णिम ‘फ्याक्टर’ तपाईको लागि सहयोगी र प्रभावकारी नै हुने छ | यसकारण पनि देउबाले कांग्रेसको बिधान संसोधन गरेर तेस्रो पटक पनि पार्टीको नेतृत्व गर्ने आँट अब गर्ने छैनन् | साथै बिध्या सुन्दर शाक्यको अत्यास लाग्दो निष्क्रियता, यथास्थितीबाद र गतिहीनतालाई चुनौति दिदै अदम्य साहासका साथ बालेनले सुरु गरेको अबैध भौतिक संरचनाको निर्मम बिनास र त्यस पछिको पुनर्निर्माण तथा राजनैतीक पार्टी सँग आबद्ध वडा अध्यक्षहरुको ब्यापक असहयोग बाबजुत हर्कले अवलम्बन गरेको जन श्रमदान मार्फत स्थानिय क्षेत्रको विकास र परिवर्तनको नमुना (मोडेल) जवाफदेही स्थानिय सरकारको लागि धेरै परिणाममुखी र उधाहरणीय हुने सामर्थ्य राख्दछ |

देशको अर्थपूर्ण परिवर्तनको लागि ठुला पार्टीहरुको आन्तरिक रुपान्तरण र सक्षम तथा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण अपरिहार्य छ | कांग्रेस भित्रको यथास्थितिबाद, हकदारिकताको मनोवृति र उमेर, सदस्यता तथा बिद्धार्थी जिबन देखिको राजनैतिक बरियताक्रम जस्ता गौण, परम्परावादी र रुढिबादी संस्कार भित्र पिल्सिएको पार्टीलाई रुपान्तरण गर्ने तपाईको प्रयास निश्चितरुपमा फलामको चिउरा चपाए सरह कठिन छ |

राजनैतिक वृत्तमा उपनिर्वाचन पछि निक्कै प्रयोगमा आएको “सच्चिने कि सक्किने” भाष्यलाई राजनैतिक रुपान्तरण र राष्ट्रको बृहत हितको लागि अझ सशक्त रुपमा अगाडी बढाउनु पर्छ | यस्ता सटिक तथा निर्मम भाष्य लगाएत अन्य थुप्रै पहलहरुको माध्यम बाट आमनागरिक केन्द्रित प्रतिस्प्रधात्मक र मर्यादित राजनैतिक संस्कार र शासकीय प्रणाली स्थापित गर्न अपरिहार्य छ | बर्षौं देखि गुम्सिएको अत्यास लाग्दो अवस्था बाट निकास पाउन, पछिल्लो समय अर्थतन्त्रमा मडारिएको नैराश्यता हटाउन र प्रगतिशील राजनैतिक थिति बसाल्न तपाईहरु बीच एक आपसमा अर्थपूर्ण सहकार्य, रचनात्मक प्रतिस्प्रद्धा र सहअस्तित्व स्वीकार गर्ने अभ्यासको थालनी गर्न आवश्यक छ | अपेक्षाको हिसाबले तपाई माथि युबा पिंढीले लामो समय देखि धेरै लगानी गरेको छ, त्यसैले राजनीतिमा आबद्ध हुँदा सम्म निरन्तर सान्दर्भिक हुने प्रयास गर्नु हुनेनैछ |

अन्तमा, नेपालको सबै भन्दा पुरानो राजनैतिक दल नेपाली कांग्रेसको आन्तरिक सुद्धिकरण, रुपान्तरण र युबा पिंढीमा नेतृत्व हस्तान्तरणको लागि तपाईले थालनी गर्नु भएको महत्वपुर्ण पहल तथा संघर्षको सफलताको लागि तपाईलाई हार्दिक शुभकामना !

बिश्वास गौचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2025 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!