Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan
May 11, 2022November 19, 2022

परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Spread the love

छयालीस सालको जनआन्दोलनले निर्दलीय व्यवस्थालाई प्रतिस्थापन गर्दै बहुदलिय राज्य प्रणाली स्थापित गर्यो | पंचायत कालमा प्रतिबन्धित राजनैतिक दलका नेताहरुले आलोपालो गर्दै सत्ताको बागडोर सम्हाले | यो तीन दशकमा कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रिको प्रणाली बाहेक सबै राज्य व्यवस्थाको प्रयोग भयो | येद्दपी ओलीको दुई तिहाई सरकारको हैसिएत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रिको  भन्दा कम थिएन | तर राजतन्त्रबाट प्रजातन्त्र हुँदै गणतन्त्र आउदा पनि मुलुकमा विकास र सम्वृद्धि आएन र जनताको जीवनस्तरमा अर्थपूर्ण सुधार देखिएन | बिगतका ठुला जनआन्दोलन केवल मुठ्ठीभरका नेताहरुलाई राज्य सत्तामा पुराउन र उनीहरुका आसेपासेलाई राज्यको स्रोत र साधनमा हालीमुहाली गराउन सिमित भएको होकी भन्ने अनुभूति भएको छ | सदियौं देखि स्थापित लिङ्ग र वर्णमा आधारित विभेदकारी राज्य व्यवस्थाले समाज र मुलुकलाई खण्डित र असमान बनाएको छ | तर गणतन्त्र पछि पनि राज्यको श्रोत विनियोजन प्रणाली सिमान्तकृत वर्ग प्रति लक्षित नहुनु खेदको बिषय हो |

संविधान परिवर्तन भयो, राज्य व्यवस्था बदलियो, सरकार फेरियो तर नेतृत्व गर्ने उही, प्रणाली उही, सोच उही, व्यवहार उही र अवस्था उही | हाम्रो परिपेक्षमा व्यवस्था फेरिएर मात्र समाज र देश नफेरिने कटुसत्य इतिहासले पुष्टि गरिसके पनि आमनागरिकले आत्माबोध गर्न अझ केही समय लाग्ला | राज्य जवाफदेही नहुदा सम्म देश सम्बृद्ध हुदैन; नागरिक जिम्मेवार नभए सम्म राज्य जवाफदेही हुदैन; र सोच परिवर्तन नभए सम्म नागरिक जिम्मेवार हुदैन | सोच परिवर्तन नागरिक जिम्मेवार बन्नका लागि र जिम्मेवार नागरिक राष्ट्र निर्माण का लागि अपरिहार्य छ | सोचले नै व्यवहार र कार्यलाई निर्देशित गर्छ | बिगतलाई समिक्षा गर्दा आम नागरिकको सोच र व्यवहार परिवर्तन नहुदा सम्म सम्बृद्ध नेपालको परिकल्पना अधुरै रहनेछ |

हाम्रो सन्दर्भमा भष्ट्राचार र राजनैतिकरण नै बिकास र सम्वृद्धि को प्रमुख बाधक हुन् | यी दुवै बेथिति राज्य प्रणालीको हरेक क्षेत्र र तहमा संस्थागत भएको छ | राजनैतिक दलको सम्रक्षण र संलग्नतामा राज्यको स्रोतको दोहन निर्वादरुपले भैरहेको छ | राजनैतिक दलको नेतृत्वमा भएका हरेक आन्दोलनमा आम नागरिकले हस्तेमा हैसे त मिलाए तर वास्तविक जनता र राष्ट्रको हितमा हुनुपर्ने जनआन्दोलन परिकल्पना अहिले सम्म भएको छैन | व्यवस्था परिवर्तन संगै भष्ट्राचार लगाएत समाजका सबै ब्रिकृति र विसंगति सम्बोधन हुदै जान्छ भन्ने अपेक्षामा आमनागरिक भ्रमित भए | भष्ट्राचार र राजनैतिकरण नरोकिए सम्म जुनसुकै प्रणाली र जतिसुकै उत्तम संबिधान र राज्य व्यवस्था आएपनि राष्ट्र र जनताले परिवर्तनको प्रतिफल पाउन सक्दैनन् |

व्यवस्था परिवर्तन संगै झ्याँगिएको भष्ट्राचार र राजनैतिकरणले राज्य र समाजका हरेक अंग र क्षेत्रलाई कमजोर, बिबेकहिन र ब्यभचारी बनाएको छ | जुन देशमा संबैधानिक अंगका प्रमुख, न्यायधिश, वकिल, पत्रकार, शिक्षक, प्रहरी र सरकारी कर्मचारी नै खुलेयाम राजनैतिक पार्टीको झण्डा बोक्छन् त्यो देशमा सरकार र राज्य प्रणाली कसरी जवाफदेही हुन सक्छ ? आम नागरिकले कानुनि राज्यको अनुभूति कसरी गर्न सक्छ र सभ्य समाज कसरी निर्माण हुन सक्छ ?

देशमा आज कुनै पनि तह र क्षेत्र भ्रष्टाचार मुक्त छैन | सजिलो, छिटो र अबैध तरिकाले धन आर्जन गर्ने गिरोह हरेक क्षेत्रमा ब्याप्त छ, सक्रिय छ | शिक्षा र स्वास्थ्य जस्तो पबित्र क्षेत्रमा पनि अकल्पनीय भ्रष्टाचार र बेथिति छ | नक्कली शैक्षिक प्रमाणपत्रधारीको लेखाजोखा छैन, बिरामीको उपचार गर्ने डाक्टर नै नक्कली छन् | शिक्षित वर्ग र शिक्षा क्षेत्र नै भष्ट्राचार र अनिमियततामा लिप्त भए पछि अरु वर्ग र क्षेत्रबाट समाजले के अपेक्षा गर्ने ? डाक्टर गोविन्द केसी त्यसै सोह्र पटक सम्म अनसन बसेनन् | उनले गरेको सत्याग्रहले स्वास्थ्य क्षेत्रमा भएको बेथितिको वास्तविक चित्रण गरेको छ | युवाको राजनैतिक अधिकार अभ्यास गराउने, एकाध युवालाई नेता बनाउने नाममा सरकारी शैक्षिक संस्थान राजनैतिक प्रशिक्षण गर्ने थलोको रुपमा प्रयोग हुदा अधिकाम्श बिद्यार्थी गुणस्तरीय शिक्षाबाट बन्चित छन् | सरकारी शैक्षिक संस्थानको दुर्दशा यहाँ झुन्डाइने राजनैतिक दल पिच्छेका तुल र नारा, घोकन्ते शिक्षा प्रणाली, निम्नस्तरीय अनुसन्धान तथा खोज, दश हजार रुपैयामा किन्न पाइने स्नाकोत्तर डिग्रीको सोधपत्र र असक्षम शिक्षक तथा प्रोफेसरले छर्लंग चित्रण गरेको छ |

नेल्सन मण्डेला भन्छन  कुनै पनि राज्यले आफ्नो नागरिकलाई गर्ने व्यवहार त्यो देशको जेलमा कैदीलाई गरिने व्यवहारबाट झल्किन्छ | मलाई लाग्छ कुनै पनि देशको सभ्यता, संस्कार, चेतना र सम्वृद्धिको स्तर त्यो देशको शैक्षिक प्रणाली र शैक्षिक क्षेत्रको वातावरणबाट झल्किन्छ | कोविद अगाडीको बर्ष करिब ६४ हजार विद्यार्थीले शिक्षा मन्त्रालयबाट विदेश पढ्नको लागि प्रमाणपत्र (एनवोसी) लिएका थिए | बार्षिक बजेटको सबै भन्दा ठुलो हिस्सा ओगट्ने शिक्षा क्षेत्रको दुर्दशा सरकारी बिद्यालय, कलेज र बिश्वबिद्यालयको पढाइको गुणस्तर, त्यहाँ हुने चरम राजनैतिकरण र अनिमियताले झल्काएको छ | यो महत्वपुर्ण स्रोतको चरम दुरुप्रयोग हो |

बास्तबमा भ्रष्टाचारको अनुसन्धान गर्ने, खबरदारी गर्ने र कारबाई गर्ने निकायमै सबै भन्दा डरलाग्दो भष्ट्राचार छ | न्यायालय होस् वा अख्तियार दुरूपयोग अनुसन्धान आयोग होस् वा माहालेखा परिक्षक कार्यालय होस् वा पुलिस प्रशासन नै किन नहोस् | न्यायधिशको नियुक्ति राजनैतिक दल बीच भागबण्डाका आधारमा हुन्छ | एक मित्रको मुद्दाबारे बरिष्ठ वकिलसंग सल्लाह गर्दा उनले तीन वटै पार्टीका वकिल राखेर मुद्दा लड्ने सल्लाह दिए | यस्तो न्याय प्रणालीमा निमुखा तथा निर्दोष जनताले कसरी र कहिले न्याय पाउलान्; दोषी, अपराधि र भ्रष्टले कहिले सजाय पाउलान्?

लामो समय महत्वपुर्ण पद र जिम्मेवारी पाएर पनि जनता र देशका लागि केही गर्न नसकेका सरकारी कर्मचारीलाई (अपबाद बाहेक) राजनैतिक आस्था र चाकडीको भरमा अवकास पछि पुन: महत्वपुर्ण जिम्मेवारी दिनु राष्ट्रको लागि केही गर्छु भन्ने इमान्दार र क्षमतावान नागरिक र बिशेष गरी युबा वर्गको योगदानलाई अवमुल्यन गर्नु हो | तीस बर्ष सम्म जिम्मेवारी पाउँदा सिन्को नभाच्ने, जनतालाई रैती समान व्यवहार गर्ने र अवकास पछि राजनैतिक चाकडीका भरमा पुन: महत्वपुर्ण पद ओगट्ने प्रवृतिले राष्ट्र निर्माणको प्रक्रियामा ठुलो आघात पुराएको छ |

राज्यको चौथो अंग भनेर राज्यले उच्च सम्मान दिएको पत्रकारिता पेशाको नाममा पित्पत्रकारिता गर्नेको झुण्ड पनि ठुलै छ | संबिधान र राज्यले पत्रकारितालाई दिएको बिशेष अधिकार र छुटको अनुचित फाइदा लिदै बिना प्रमाण भ्रामक सूचना सप्रेषण गर्ने, सोही संस्था तथा विभिन्न अन्य निकायको कर्मचारी संग मिलेर गोप्य सुचना प्रकाशन गर्ने धम्कि दिदै नियमित रुपले रकम असुल्ने प्रवृति च्याउ जस्तो उम्रिएका अधिकांश अनलाइन मिडियामा संस्थागत भैसकेको छ |  त्यस्ता मिडियाबाट प्रकाशित हुने खबरका प्रकृति र स्तरले सहजै पित्पत्रकारिताको अनुमान लगाउन सकिन्छ |

भूमाफियाले राज्यका विभिन्न संयन्त्र प्रयोग गरेर सार्बजनिक जग्गा हडपेको नयाँ घटनाहरु पुष्टि हुँदै छ | निजि क्षेत्रका केही बर्गले राज्यलाई निरन्तर दोहन गरिनै रहेका छन् | नक्कली भ्याट बिलको प्रयोग गरेर र आम्दानि कम खर्च धेरै देखाएर कर छल्ने प्रवृति रोकिएको छैन | अदुवा, सुपारी, मरिच, खाने तेल जस्ता बस्तुहरु भारतको उच्च भन्सार दरको फाइदा लिन विदेशबाट नेपाल आयात गरेर भारत निकास गर्ने प्रणाली निरन्तर चलिरहेको छ,  जसको कारण वास्तविक नेपाली उत्पादनले बजार पाएको छैन र कृषक र उत्पादकले बर्षेनी क्षति बेहोर्नु परेको छ | देशमा सुन तस्करीको प्रवेश बिन्दु (त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल) यौटै मात्र भए पनि पंचायत काल देखि अहिले सम्म पनि सुनको तस्करी थामिएको छैन | आयातमा भन्सार छल्ने प्रवृति यथावत छ र अनौपचारिक विप्रेषण फस्टाएको छ | यस्तो ब्रिकृतिले औपचारिक क्षेत्रमा पूर्ण क्षमतामा स्रोत परिचालन हुन सकेको छैन र छायाँ अर्थतन्त्र थप मौलाएको छ | 

नेता, बिचौलिया, माफिया, दलाल, गुण्डा, भष्ट्र हाम्रै समाजका अंग हुन | कुनै संगठनमा आबद्ध हुनेक्रममा सो संगठनको सदस्यले गरेको जायेज नाजायेज सबै कुरामा हामी अन्ध-समर्थन गर्छौं | आफ्नालाई बचाउ गर्ने क्रममा हामीले अपराध र अपराधिलाई प्रोत्साहन गरिरहेका छौं | गलतलाई गलत नै भन्ने संस्कार बसाल्न जरुरि छ | बेथितिलाई सम्बोधन गर्न राज्यले असल नियतले ल्याएको सुधारका कार्यक्रमलाई विभिन्न बहानामा हामी आफै बिरोध गर्छौं | हाम्रो आचरण, आशक्ति र लाचारीपनले यस्ता असामाजिक संस्कार र तत्वलाई निरन्तर बढावा मिलेको छ | राजनैतिक सम्रक्षणको आडमा यस्ता तत्व थप सक्रिय, बलिया र आक्रामक बन्दै गएका छन् | संस्थागत भष्ट्राचार र चरम राजनैतिकरण नै राष्ट्र निर्माण र सम्वृद्धिका प्रमुख बाधक हुन् | जनताकै सशक्त सहभागीताले सम्भब भएका ठुला राजनैतिक परिवर्तनको बलमा सत्तामा पुगेका राजनैतिक वृतका व्यक्तिहरु आज आफुलाई आमनागरिक भन्दा माथिल्लो दर्जाको सम्झनछन् | राजनीतिमा लागे आमनागरिक भन्दा माथिल्लो दर्जा र विशेषाधिकार स्थापित हुन्छ भन्ने गलत सोच ब्याप्त छ | यस्तो अवस्थामा आम नागरिकले नै राज्यलाई जवाफदेही नबनाए सम्म नयाँ नेपालको निर्माण सम्भब हुदैन |

राजनैतिक नेतृत्वमा भएका जनआन्दोलनले देशमा ठुला राजनैतिक परिवर्तन ल्यायो, नेतृत्व बर्गको सत्ताको अभिलाषा पनि पुरा भयो तर जनताको सम्वृद्धिको अपेक्षा जहाको त्यही छ | संबिधान र व्यवस्था परिवर्तन भयो तर सोच र अवस्था उही छ | दिनभर गफिएर दोष अरुलाई थोपारेर समाज र देश सम्बृद्ध हुदैन | परिवर्तनको सुरुवात आफै बाट गर्नु पर्छ | जिम्मेवार नागरिक सरह कर तिरौं र परिवर्तनको लागि सही व्यक्तिलाई मतदान गरौं | आमनागरिकको कर तिर्ने दायित्व र मतदान गर्ने मौलिक अधिकार एक आपसका परिपुरक हुन् | मेहेनत गरेर कमाएको आम्दानिबाट कर तिर्ने नागरिक बढी सचेत र जिम्मेवार हुन्छन्, सरकारको जवाफदेहिता खोज्छन् | बारम्बार गलत व्यक्तिलाई भोट हालेर पुन: उसैलाई पांच बर्ष सरापेर देश अगाडी बढ्दैन | आफ्नो अधिकारको प्रयोग गर्दै सकारात्मक परिवर्तनको पहिलो कदम आफै बाट सुरु गर्न जिम्मेवारीको साथ सही व्यक्तिलाई मतदान गरेर आम निर्वाचन भब्य रुपले सफल पारौं, हार्दिक शुभ-कामना !

2 thoughts on “परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं”

  1. Tejendra Sherchan says:
    May 18, 2022 at 10:40 am

    Insightful essay. Keep up the good work.

    Reply
    1. Biswash says:
      May 26, 2022 at 10:14 am
      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2025 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!