Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan
June 24, 2022June 25, 2022

तुलनात्मक लाभको उत्कृष्ट प्रतिबिम्ब: निम्स दाइ

Spread the love

सानो छँदा गाउमा आकर्षक बिदेशी गगल्स, छात्रे टोपी, जिन्सको पाइन्ट, ज्याकेट, जुत्ता, घडी लगाएर; क्यामेरा भिरेर र टेप घनकाएर छुट्टीमा गाउँ आउने ब्रिटिश पल्टनका नेपाली लाहुरेहरु हामी जस्ता कलिला उमेरका केटाहरुको लागि प्रेरणा हुन्थे | समाजमा उनीहरुको बिशेष सम्मान थियो | हाम्रै गाउँको एकाघरका तीन जना दाजुभाइ लाउरे थिए, त्यस्तो संयोगलाई गाउलेहरु ट्रिपल पप्लु भन्थे | मैले पढेको पोखराको गण्डकी बोर्डिंग स्कुलमा लाहुरेका छोराहरु निक्कै थिए | उनीहरुले राम्रा बिदेशी कपडा र जुत्ता लगाएको देख्दा बेला बखत हिनता बोध पनि हुन्थ्यो | कतिपय सिनिएर दाइहरु र हाम्रै साथीहरु पनि पढ्दा पढ्दै वा १० कक्षा पास गरेर भर्ति भएका थुप्रै उधाहरणहरु छन् | 

पिएचडिको सिलसिलामा भारत बस्दा सन् २०१६ मा मुवाबुवालाई देहरादुन र मसुरी घुमाउन लगेको थिए | त्यसै क्रममा सन् १८१४ को ब्रिटिश साम्राज्य र नेपाल बीचको पहिलो युद्ध मा गोर्खाली सेनाले प्रदर्शन गरेको बाहादुरिताको सम्मानमा ब्रिटिश सरकारले देहरादुनमा स्थापना गरेको खलङ्गा युद्ध स्मारिकाको भ्रमण गर्दा मन भरिएर आयो | देहरादुनको नालापानीमा टेकेर बलभद्र कुँवरको नेतृत्वमा गोर्खाली सेनाले प्रदर्शन गरेको बाहादुरीताको इतिहास स्मरण गर्दा छाती गर्बले फुलेको थियो | सो स्मारक शत्रु पक्षको सम्मानमा स्थापना गरिएको विश्वको एकमात्र स्मारक रे | गोर्खाली सेनाको बाहादुरिताको उच्च मुल्यांकन गर्दै गोर्खालीलाई ब्रिटिश सेनामा भर्ना गर्ने चलन तेतिबेला देखि चलेको रहेछ | यो दुई सय बर्ष भन्दा पुरानो परम्परा अहिले पनि निरन्तर चलेको छ | कुनै बेला साम्राज्यबादको चरम बिन्दुमा  घाम नअस्ताउने साम्राज्यको रुपमा स्थापित ब्रिटिश साम्राज्यको इतिहासमा यस्तो बिशेष प्रथा नेपाल संग मात्र भएको एकदमै बिशिष्ट व्यवस्था हो | यो प्रथामा नेपालका प्राय: मगर, गुरुङ र राई समुदाय आबद्ध छन् | आम नेपाली नागरिकमा बिदेश प्रतिको मोहको बिजारोपण सायद यही प्रथाबाट सुरु भएको हो भन्दा अतिसयुक्ति नहोला |

करिब चौबिस सय किलोमिटर लामो हिमाली शृंखलाको तीन भागको एक भाग नेपालमा पर्छ | यस्तो उच्च शृंखला संसारको अर्को कुनै ठाउमा छैन | यो शृंखलाको भौगोलिक बनोट बेजोड र अद्दितिय छ | यही उच्च हिमाली शृंखलाको पिंधमा विभिन्न समुदायहरु आदिम काल देखि बस्दै आएका छन् | ती मद्धे शेर्पा एक प्रमुख समुदाय हो जो नेपालको प्राय: सोलुखुम्बु क्षेत्रको हिमाली भेगमा बस्छन् | हिमाल चढ्ने र सहयोगी दलको सदस्यको रुपमा शेर्पा विश्व प्रसिद्ध छन् | शेर्पा कै नाममा हिमाल चढ्ने सामाग्री तथा उच्च भेगमा लगाउने बिशेष किसिमका जुत्ता, कपडा आदि सामानको विश्व प्रसिद्ध ब्रान्ड स्थापित छ | उच्च हिमाली भेगमा जन्मेर त्यही हुर्केका शेर्पाहरु प्राकृतिक हिमाल आरोही हुन् | पांच देशमा फैलेको चौबिस सय किलोमिटर लामो हिमाली शृंखलामा बिबिध समुदायहरु बसोबास गरे पनि नेपालको शेर्पा समुदाय नै बिगत सात दशक देखि हिमाल आरोहणको विधामा अब्बल र अतुलनीय रुपमा स्थापित भएका छन् |

विश्वको सबै भन्दा अब्बल र उत्कृष्ट सेनाको रुपमा स्थापित ब्रिटिश सेनामा यौटै मात्र बिदेशी नागरिकले भर्ना पाउने गोर्खाली सेना र प्राकृतिक रुपले  हिमाल चढ्न अब्बल शेर्पा समुदाय – यी दुवै नेपालको मौलिक बिशेषता हुन् | यी दुई बिशेषता विश्वको अन्य कुनै पनि मुलुकमा पाइदैन | गोर्खाली सेनाको बहादुरिता र बफादारिताले विश्व प्रसिद्धि कमाएको छ भने अग्लो उचाईको हिमाल आरोहण गर्ने समुदायको रुपमा शेर्पाको विकल्प तयार भएको छैन | पहिलो र दोश्रो विश्व युद्ध लगाएत अफगानिस्तान जस्ता सुरक्षाको दृष्टिकोणले अत्यन्तै संबेदनशील र जोखिमपूर्ण स्थानमा ब्रिटिश सेना अन्तर्गत गोर्खाली सेनाले अद्भुत बहादुरीता, साहास र क्षमता प्रदर्शन गरेका छ भने शेर्पाको संलग्नता बिना हिमाल चढ्ने अभियान कठिन र जोखिमपूर्ण हुने भाष्य स्थापित भैसकेको छ | | शेर्पा समुदायको लागि हिमालका शिखरहरु पानी पधेरो जस्तो भएको छ | बिबिध बिशेषताको संगम द्वारा विशिष्टता शृजना हुन्छ | निमल पुर्जा उर्फ “निम्स दाइ” यही विशिष्टताको एक असाधारण प्रतिबिम्ब हुन् | उनले यी दुई बिशेषताको नविनतम प्रयोग गरेर कसैले नसोचेको उपलब्धि हाँसिल गरे | सोच नविनतम, प्रयोग नबिनतम, लक्ष्य नविनतम ! साहस असाधारण, मेहेनत असाधारण, सफलता असाधारण!

तर निम्स दाइले मात्र आठ हजार मिटरको उचाई भएका १४ वटै हिमाल आरोहण गरेका होइनन् | विभिन्न मुलुकका करिब चालिस जनाले १४ वटै हिमाल चढिसकेका छन् | निम्स दाइले चाँही ३६ बर्षको उमेरमा ६ महिना ६ दिनमा आठ हजार मिटर उचाईका १४ वटै हिमाल सबै भन्दा छोटो अवधिमा चढेर २९ अक्टोबर २०१९ का दिन नयाँ विश्व किर्तिमान बनाएका हुन् | राष्ट्रले नै गर्ब गर्ने यो असाधारण उपलब्धि हो | उनी भन्दा अगाडी रेकर्ड राख्ने कोरियन नागरिकले सात बर्ष ३१० दिन लगाएका थिए | हिमाल आरोहण गर्ने क्रममा यस अघि पनि उनले सन् २०१७ देखि नै अन्य विश्व रेकर्ड बनाउदै आएका थिए | एक गरिब राष्ट्रको नागरिकले अन्तराष्ट्रिय व्यवस्थापन तथा अभियान मार्फत आफ्नो लक्ष हासिल गरेका हुन् | नयाँ किर्तिमान संगै उनले देशको महत्वपुर्ण बिशेषता र सम्भावनालाई आफ्नो सफलताको माध्यमबाट अभिव्यक्त गरेका छन् | मगर समुदायको सरलपन तथा इमान्दारिता; ब्रिटिश गोर्खा आर्मीको तालिम तथा अनुशासन; शेर्पाको हिमाल चढ्ने प्राकृतिक कला तथा क्षमता; बिदेशी बसाइले उघारेको सोच, पहुँच तथा अभियानको शैली; परिवारको साथ; आफै प्रतिको अद्भुत आत्मा-बिश्वास, अदम्य साहास र कठिन मेहेनत; र यी सबै बिशेषताको संगम बाट जुरेको एक असाधारण सफलताको प्रतिबिम्ब हुन् निम्स दाइ !

अर्थशास्त्रको बिधार्थीको नाताले मैले निम्स दाइलाई फरक अन्दाजमा अवलोकन, विश्लेषण, मुल्यांकन र बुझ्ने कोसिस गर्दै छु | सो प्रयास बाट केही उप्रेरणा र केही अन्तर्दृष्टि मिलेको छ | यो आलेखको मुख्य उदेश्य नै उनको उत्कृष्ट अन्तराष्ट्रिय सफलतालाई कसरी उनको धरातल अर्थात नेपाल र नेपाली संग जोड्न सकिन्छ र नयाँ नेपालको सन्दर्भमा उनको जिबनबाट के कस्ता प्रेरणा र सिकाईहरु ग्रहण गर्न सकिन्छ भन्ने हो | व्यस्तताका बीच लामो समय सम्म सो बिषय संग कहिले नजिकिने कहिले टाढिने प्रसङ्ग चल्दै गर्दा बिचारले ठोस रुप लिन कठिन भयो | सतही रुपमा ती बिबिध आयामहरु बीच अन्तर-सम्बन्ध छ भन्ने बारे बिश्वस्त भए पनि आलेख मै उतार्न सक्ने खालको स्पष्टता भने लामो समय सम्म आएन | उनको “फोरटीन पिक्स” वृत्तचित्र हेरेको पनि करिब ६ महिना भैसकेछ | सो वृत्तचित्र हेर्दा हेर्दै मष्तिस्कमा नेपाल र नेपालीको विशिष्टता सम्बन्धि नविनतम अवधारणा बिजारोपण भए पनि परिस्कृत ढंगले ब्याखान गर्न निक्कै समय लाग्यो | यो आलेख तयार पारेर प्रकाशित भए पछि पनि मेरो मस्तिष्कले यसका बिबिध पक्षहरुलाई जोडेर हेर्ने र अर्थ्याउने थप प्रयास गर्ने छ | म बिश्वस्त छु, यो बिषयबाट प्रवाह हुने अन्तर्दृष्टि मुलुकको दिशानिर्देशको लागि महत्वपुर्ण प्रेरणाको श्रोतको रुपमा स्थापित हुनेछ | उनको उपलब्धि लाखौँ नेपाली युबाको लागि अर्थपूर्ण र प्रेरणादायी छ | मुलुक भित्रको अत्यासलाग्दो राजनैतिक र निराशाजनक विकासको अवस्था बीच उनको अनुभब, अदम्य साहास र असाधारण उपलब्धिले एक सामान्य नेपाली युबालाई पनि विश्वले कहिले  नदेखेको सफलता र उचाई हासिल गर्न उत्प्रेरित गर्नेछ | जिन्दगीको अर्थ, सफलता र सन्तुष्टिको एउटा उत्तम मापन यो पनि त हो ! 

मुलुकको सम्भावना देश भित्रै खोज्ने हो | मुलुकको बिशेषता र मुलुक मै उपलब्ध श्रोतमा आधारित व्यवसाय तथा उत्पादन दिगो हुन्छ, उच्च अभिवृद्धिको सम्भावना हुन्छ | दात्रि संस्थाले प्रबर्धन गर्ने विकासे  मोडेल कपि पेस्ट गरेर मुलुक धेरै टाढा पुग्छ जस्तो लाग्दैन | दात्रि संस्थाको आधा शताब्दीको संलग्नतामा पनि मुलुकमा सम्वृद्धि आएको छैन | क्षमता अभिवृद्धिको नाममा दात्रि संस्थाले बर्षेनी अरबौ रुपैया खर्चेर पनि सार्बजनिक सेवाको गुणस्तर र प्रभावकारिता दयनीय छ | हाम्रो मुलुकको विकासको मौलिक मोडेल हामीले नै खोज्ने हो, निर्धारण गर्ने हो र लागू गर्ने हो | बिदेशी अनुदानको रुपमा आउने अधिकांश श्रोत झिना मसिना कार्यक्रममा खेर गैरहेको छ | दात्रि संस्थाबाट निर्देशित कार्यक्रम मुलुकको प्राथमिकता तथा धरातलीय यथार्थ भन्दा पृथक छन्, त्यसैले नतिजा अमूर्त छन् | सबै समाधानका उपायहरु आयातित हुनु पर्दैन, स्थानीय समस्याको निदान प्राय: स्थानीय उपाय बाटै सम्भब हुन्छ | हाम्रो जस्तो मुलुकमा तल देखि माथिको (बटम अप) बिकासे अवधारणा अन्तर्गत स्थानीय उपाय तथा बिशेषता र अन्तराष्ट्रिय प्रबिधि तथा श्रोतको समिश्रण नतिजामुखी र प्रभावकारी हुन्छ |

यी बिषयहरुमा आजकाल दात्रि संस्थाहरुमा काम गर्ने स्वदेशी तथा बिदेशीहरु संग मेरो गम्भीर बहस हुने गर्छ | सो क्रममा उनीहरुले केही मुलुकको अपबाद घटना तथा सफल कथाको (सक्सेस स्टोरी) उधाहरण दिन्छन् र अर्थन्त्रको सैद्धान्तिक कुरा गर्छन् | मेरो बुझाइ के हो भने अपबाद त अपबाद नै हो नि! कुनै देशको अपवादलाई अन्य मुलुकले अनुसरण गरेर बिकासको फड्को मार्न सकिन्छ भन्ने कुरा सैद्धान्तिक रुपले मनन गर्न योग्य भए पनि व्यवहारिक रुपले प्राय: असादर्भिक हुन सक्छ | साथै अर्थतन्त्रको सिद्धान्तको हकमा माग र आपूर्ति जस्ता केही आधारभूत सिद्धान्तहरु बाहेक अन्य अधिकांश सिद्धान्तहरुमा अर्थशास्त्रीय धार पिच्छे फरक अवधारणा छन् | क्लासिकल र किन्सका धारणाहरु फरक छन् त्यसैले एकै समस्याको लागि उनीहरुले पेश गर्ने समाधानका उपायहरु फरक हुन्छन् | हामीले पनि हाम्रो समस्याको समाधान आफ्नै तथ्यांक, प्रमाण र संदर्भमा आधारित व्यवहारिक नीति तथा योजना मार्फत खोज्नु पर्छ |

दुई सय बर्ष भन्दा पुरानो पृथक संस्कृतिलाई यहा सम्म ल्याउने क्रममा लाखौँ गोर्खाली सैनिक मद्धे कतिले निम्स दाइले जस्तो फरक सपना देखेका होलान् वा नविनतम अवधारणा बाट सम्भावना खोजेका होलान्? सात दशक देखि सहयोगीको रुपमा अरुलाई हिमालको शिखरमा पुराउने क्रममा कति शेर्पाले पृथक सोच राखेर विश्वमा आफ्नो नाम स्थापित गरेर सो शिपलाई व्यवसायको रुपमा स्थापित गरेको होलान्? गोर्खाली सेना र शेर्पा विश्वको दोश्रो मुलुकमा छैन | यी दुई नितान्त नेपालको मौलिक बिशेषता हुन् | निम्स दाइले यी मौलिक बिशेषतालाई मिश्रण गरेर आफ्नो बिशिष्टता स्थापित गरे | अहिले सोही उपलब्धि र बिशिष्टतालाई पेशा बनाएर सफल व्यवशायी बनेका छन् | यस अर्थमा निम्स दाइ विशिष्टतामा आधारित सम्भावनाको एक अभुत्पुर्ब प्रतिबिम्ब हुन् |

हामीले पनि उनले जस्तै देशको मौलिक बिशेषतालाई बिशिष्टतामा रुपान्तर गरेर यस्तै नविनतम अवधारणा मार्फत नयाँ सम्भावना खोज्नु पर्छ | उत्पादन तथा अन्तरराष्ट्रिय ब्यापारको सन्दर्भमा सर्बाधिक प्रयोग गरिने शब्द “तुलनात्मक लाभ” को अवधारणा नै यही हो | देशमा उपलब्ध नहुने आयातित कच्चा पदार्थमा आधारित उद्योगबाट सामान्य मूल्य अभिवृद्धि गरेर पुन: निर्यात गर्ने परम्परागत मोडेलले हाम्रो जस्तो भुपरिबेष्तिक राष्ट्र धेरै टाढा पुग्दैन | मुलुकको मौलिक बिशेषतामा आधारित सम्भावना पहिचान गरेर सम्वृद्धि हासिल गर्नु पर्छ | पानी, प्राकृतिक सुन्दरता तथा बिबिधता, उचाईको बिबिधता, खनिज, पहाड, बन जंगल, युबा, सामाजिक बिबिधता, सरलता, इमान्दारिता आदि हाम्रा विशेषता हुन् | हामीले हाम्रो सम्भावना यही बिशेषता भित्र खोज्नु पर्छ | यस्तै विशिष्टतामा आधारित उत्पादन तथा मूल्य अभिवृद्धिको मजबुत जगमा मुलुकले विकास र सम्वृद्धिको छलाङ्ग मार्नु पर्छ |

निम्स दाइलाई नेपाल संग जोड्ने क्रममा उनको व्यक्तित्व र उपलब्धिलाई संकुचित सोच, परिधि र परिभाषामा बाँधेर राख्ने गल्ति गर्नु हुदैन | उनी अन्तरराष्ट्रिय सेलिब्रेटी हुन् | उनले अधिकांश समय जोखिमपूर्ण वातारण र युवा तथा विश्वलाई नै प्रेरित गर्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभियानमा लगानी गरेका छन् | समय दिएन, कार्यक्रममा आएन, फोन उठाएन, जवाफ दिएन, अहंकारी भयो जस्ता गौण बिषयलाई उठाएर उनको असाधारण उपलब्धि, प्रतिष्ठा र अन्तरराष्ट्रिय छबिलाई अवमुल्यन गर्ने र प्रतिसोध साध्ने जस्ता संकीर्ण ठेट नेपाली प्रवृति भन्दा माथि उठेर उनलाई निरन्तर साथ, प्रेरणा, हौसला र मार्गदर्शन प्रदान गर्नु पर्छ | उनले अझ धेरै प्रगति गर्नु पर्छ, सफलताका नयाँ शिखरहरु चुम्नु पर्छ र उनको उपलब्धिले युवा र विश्वलाई थप प्रेरित गर्नु पर्छ | उनको उपलब्धिको उधाहरणले नयाँ नेपाल निर्माणमा एउटा नयाँ मार्गदर्शन प्रदान गर्न सकोस्, हार्दिक शुभ-कामना !

https://www.setopati.com/opinion/274818 (आषाढ १० गते प्रकाशित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2025 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!