Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan
October 18, 2023October 18, 2023

जिवन्त हिमाली सहरको परिकल्पना

Spread the love

थाकखोलाको मेरो पहिलो भ्रमण चैत्र २०६६ सालमा हाम्रो दाजुभाइ प्लम्तनको च्हो मुस्ताङ्गको टिटी गाउँमा आयोजना हुँदा भएको थियो I पहिलो पटकको त्यो एक दिने भ्रमणमा नै आफ्नो पुर्खौली ठाउँको सुन्दरता र बिशेषताले मोहित बनायो I पूर्व निर्धारित म्याग्दी जिल्लाको एक महिने भ्रमणमा निस्केको कारणले त्यस बेला थाकखोलाको लागि अरु थप समय निकाल्न सकिन | तर लगत्तै केही  महिना पछि हिउँदमा थाकखोलाको भ्रमणमा एक्लै निस्किएँ | यसपाली भने मुक्तिनाथ देखि टुक्चे हुँदै घासा सम्म पैदल यात्रा गरेँ | थाकखोला गाउँ खोज्दै हिडेको यात्रा टुंगिदा मात्र थाहा भयो कि घासा देखि टुक्चे सम्मको करिब २१ कि. मि. को सम्पूर्ण क्षेत्रलाई नै थाकखोला भनिदो रहेछ | अत्यन्त रमणीय यो क्षेत्र ४० बर्षको उमेरमा पहिलो चोटि भ्रमण गर्न जुरेको मेरो भाग्य प्रति भने मेरो गहिरो खेद रहन गयो | 

नयाँ ठाउ भ्रमण गर्दा स्थानीय क्षेत्रको विशेषता र महत्व बुझ्न चाहने मेरो स्वभाब आफ्नै पुर्खौली पुग्दा उत्सुकता स्वाभाविक रुपले बढ्ने नै भयो | केही समय अघि गरेको म्याग्दी जिल्लाको ३२ वटा गा. बि. स. को  एक महिने पैदल यात्रा जत्तिकै यो तिन दिने भ्रमण पनि उत्तिकै आनन्दमय, शिक्षाप्रद र उपब्धि मुलक रहन गयो | यो भ्रमण र त्यस पछि गरिएका केही  खोज र अध्ययनका आधारमा हाम्रो पुर्ख्यौली थलो थाकखोलाको विकासका सम्भावनाका अवधारणा तयार गर्न मलाई धेरै मद्दत मिल्यो | यस सम्बन्धि मेरा आफ्ना बिचारहरु समय समयमा व्यक्तिगत रुपमा ब्यक्त पनि गर्दै आएको छु | आशा छ यी अवधारणाहरु देशको नयाँ राजनैतिक परिवेश र स्थानीय विकासमा स्थानीय निकायको बढ्दो भूमिका संगै अवश्य पनि क्रमस संथागत हुनेछन् |

थकाली जातिको उत्पत्ति बारेमा खासै ठोस प्रमाण उपलब्ध नभएको कारण किम्बन्दन्तिका साथै केही  अनुमान र सुने भनेका आधारमा उल्लेख गरेको पाइन्छ | ति फरक भनाइका बाबजुत यौटा कुरामा हामी एकमत हुने आधार के हुनसक्छ भने थकाली जातिको पहिचान थाकखोला क्षेत्रसंग अभिन्न रुपले जोडिएको छ | अर्थात हाम्रो जातिय पहिचानको आधार नै थाकखोला क्षेत्र हो | १३ औ सताब्दीमा प्रवेश गरेका थकाली समुदाय १५ औ सताब्दी सम्म सो क्षेत्रमा पूर्णरुपमा स्थापित भैसकेका थिए | सो क्षेत्रको ब्यापारिक महत्व संगै थकाली समुदाय पनि ब्यापारसंग सम्बन्धित सबै क्षेत्रमा क्रमिक रुपमा संलग्न हुदै कालान्तरमा सफल उद्यमीको रुपमा राष्ट्रिय स्तर मै पनि स्थापित भए | नेपालको इतिहासमा थकाली समुदायजस्तो बिशेष क्षेत्र, ठाउँ  तथा भूगोलका आधारमा बिशिष्ट सांस्कृतिक, सामाजिक तथा आर्थिक पहिचान पाएको जाति तथा समुदाय एकाध हुनुपर्छ | अन्य आर्थिक अवसर, कठिन जनजीबन तथा जाडोमा न्यून तापक्रमका कारण हामी क्रमिक रुपमा देशका विभिन्न ठाउमा स्थानान्तर हुँदै गएको निष्कर्ष युक्तिसंगत हो | 

गणतान्त्रिक संबिधान र सो अनुरुपको राजनैतिक तथा प्रसाशनिक सिमांकनका आधारमा थाकखोला अथवा थाक सात सय क्षेत्रलाई थासाङ्ग गाउँ पालिकामा समेटिएको छ | टुक्चेका साबिकका ८ र ९ वडाहरु बाहेक थाकखोलाका घासा देखि टुकुचे सम्मका सम्पूर्ण क्षेत्र यसमा समेटिएकोछ | यो सम्पूर्ण थकाली समुदायको अस्तित्व, पहिचान, संस्कृति, उत्थान र बिकासका लागि अत्यन्त सकारात्मक कदम हो | २८९ वर्ग किलोमिटर छेत्रफल रहेको यो पालिका मुस्ताङ्ग जिल्लाको ५ गाउँ पालिकाहरु मध्ये एक हो | पुर्खौली नाम थाक सात सय अनुसार अहिले पनि करिब सात सय घरधुरी रहेको यस क्षेत्रको कुल जनसंख्या २,९१२ छ र नेपालको सबै भन्दा कम जनसंख्या हुने बाह्रौ (उधाहरणको लागि मुस्ताङ्ग-३, मनाङ्ग-४, बझाङ्ग-१, डोल्पा-३) गाउँ पालिका हो | त्यसैले थोरै जनसंख्याका कारण प्रति व्यक्ति धेरै बजेट पाउने गाउँ पालिका मध्ये यो पनि पर्दछ | थासाङ्ग गाउँ पालिका प्राकृतिक स्रोतको हिसाबले वास्तबमा बेजोड छ र नेपालको सबै भन्दा धनी तथा समृद्ध गाउँ पालिका हुन सक्ने प्रशस्त आधारहरु र सम्भावनाहरु छन् | सम्पूर्ण थकाली समुदाय र स्थानीय जनताको सहकार्यले यो क्षेत्रलाई देशको नमुना गाउँ पालिकामा रुपान्तर गर्न सकिन्छ | यसै क्रममा थाकखोलाको विशेषताहरु यस प्रकार चित्रण गर्न सकिन्छ:

१. मुस्ताङ जिल्लाको भू-बनौट वास्तबमा संसार मै बिशिष्ट र बेजोड छ | हिमालयन शृंखलाको करिब २४ सय किलोमिटरको लम्बाईमा यस्तो असाधारणभू-भाग पश्चिममा भारतको लद्दाक र पूर्वमा नेपालको मुस्ताङमा मात्र सिमित छ | उच्च भू-भागमा यस्तो बिचित्रको भू-बनौट आफैमा प्रकृतिको अनुपम बरदान हो | बिबिध माध्यमबाट राज्यले यस्तो प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक उत्कृष्ट संगमको उच्चतम लाभ लिने गरी स्थानिय, प्रदेश र राष्ट्रको बृहत हितको लागि योजना र रणनीति गरेर कार्यन्वयन गर्नु पर्छ |

२. समुद्री तहबाट करिब २,९०० मिटरको उचाईमा रहेको यो क्षेत्रमा कालिगण्डकी नदीबाट मात्र १,००० मेगावाट भन्दा धेरै क्षमताको जलबिद्युत आयोजना निर्माण गर्न सकिन्छ | सो ठाउँ अवलोकन गर्दा प्रकृतिले नै यस्तो योजनाका लागि सबै कुरा जुराइ दिएको जस्तो अनुभूति हुन्छ | धम्पुमा बाँध बाँधेर टुक्चे सम्मको बगरमा पानी जमाई सुरुङ्ग मार्फत दानामा बन्ने बिद्युत गृहमा पानी खसाल्दा लागत, बिद्युत उत्पादन र सामाजिक तथा वातावरणीय प्रभाबका हिसाबले देशकै सबै भन्दा उत्कृष्ट जल बिद्युत परियोजना मद्धे एक आयोजना निर्माण गर्न सकिन्छ | केवल १० कि. मि. को सुरुङ्ग बाट १,२०० मिटरको उचाई (‘हेड’) निस्कने, अत्यन्त न्यून परिवार प्रभावित हुने र मुवाब्जा पनि नगन्य लाग्ने यो देशकै अपबाद जल बिद्युत परियोजना हुनेछ | यो क्षेत्र देशको मध्य भागमा पर्ने भएकोले यो परियोजना सम्पन्न भए गण्डकी प्रदेश मात्र नभएर सम्पूर्ण देशलाई नै गुणस्तरीय बिद्युत आपूर्ति सुनिश्चित गर्न सहज हुनेछ |

३. त्यस्तै धम्पु देखि टुक्चे सम्मको करिब १६ कि. मि. को लम्बाई मा फैलिएको कालिगण्डकीको बगर वास्तबमा सदियौ देखि थुप्रिदै बनेको गिट्टी र बालुवाको बिशाल खानी हो | यही गिट्टी बालुवाले सुनौली-बेनी-जोमसोम-कोराला जोड्ने अन्तरास्ट्रिय स्तरको ४ लेनको ३४५ कि. मि. लामो राजमार्ग र माथि उल्लेख गरिएको जलबिद्युत आयोजना निर्माण गर्न सकिन्छ | साथै गिट्टी बालुवा उत्खनन गरे बापत प्राप्त हुने राजश्वले सोही जलबिद्युत आयोजनामा गाउँ पालिकाको पनि स्वामित्व हुने गरी पुँजीकरण गर्नुको साथै सोही क्षेत्रको बृहत बिकासका लागि अरु लगानीका आधारहरु प्रसस्त गर्न सकिन्छ | यसरी गिट्टी बालुवा उत्खनन गरेर बन्ने बिशाल काली गण्डकीको थाकखोला ताल उक्त जलबिद्युत परियोजनाको लागि अत्यन्तै उपयुक्त हुनेछ | बिगतमा निक्कै तल बग्ने कालिगण्डकी हाल त्यहाका बस्ती कै तहमा बगेकोले बेलैमा सही व्यवस्थापन नगरे यी बस्तीहरु नै मेटिन सक्ने जोखिम छ | एक्याप संगको सहकार्यमा छुट्टै पथमार्ग निर्माण गरी यहाँको  प्राकृतिक श्रोत स्थानीय तथा राष्ट्र हितमा सदुप्रयोग गर्ने रणनीति अवलम्बन गर्नु पर्छ |

४. पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्र प्राकृतिक सौन्दर्यताका अलावा थकाली समुदायको अद्दितिय संस्कृति प्रदर्शन गर्ने थलोको रुपमा बिकसित गर्न सकिन्छ भने मौलिक मठ मन्दिर र गुम्बा सम्भार तथा निर्माण लगाएत अन्य धार्मिक, सांस्कृतिक तथा अध्यात्मिक पूर्वाधार तयार गरी अन्तरास्ट्रिय अध्यात्मिक केन्द्रको रुपमा बिकसित गर्न सकिन्छ |लुम्बिनी देखि मुक्तिनाथ तथा देऊघाट देखि मुक्तिनाथको यात्रालाई हिन्दु तथा बौद्ध धर्मावलम्बीका बीच अत्यन्त महत्वपूर्ण धार्मिक आस्थाको रुपमा प्रबर्धन गरी यी पथमार्गलाई तिर्थ यात्राको रुपमा विकास गर्न सकिन्छ | उदहारणको लागि, स्तरिय पूर्वाधार निर्माण गर्न सके उच्च धार्मिक महत्वको देऊघाट – बन्दीपुर – बिन्दबासिनी (पोखरा) – कालिका (बाग्लुंग) – गलेश्वोर (म्याग्दी) – थाकखोला गुम्बा – मुक्तिनाथ मार्ग प्रबर्धन गर्न सकिन्छ | साथै नारायणघाट देखि देऊघाट सम्मको क्षेत्रलाई हरिद्वार मोडेलको धार्मिक केन्द्रको रुपमा बिकास गर्न सके बिहार तथा उत्तरप्रदेशका ३५ करोड हिन्दु धर्मावलम्बीलाई आकार्षण गरी देऊघाट देखि मुक्तिनाथ सम्मको धार्मिक मार्ग संग सहजै जोड्न सकिन्छ | यसको अलावा थाकखोलामा थकाली समुदायको मौलिक संस्कृति अनुरुपको आकर्षक केन्द्र स्थापना गर्न सके धार्मिक पर्यटनमा थप योगदान दिन सकिन्छ |

५. माथि उल्लेख भए बमोजिम जल बिद्युत परियोजना सम्पन्न भए ३,००० मीटर को उचाइमा बन्ने कम्तिमा १० मीटर गहिराई र १६ कि मि लम्बाईको बिशाल मानब निर्मित तालमा माछा पालन लगायत जल सम्बन्धि बिबिध मनोरन्जनका गतिबिधि र साहसिक खेल आयोजना गर्न सकिन्छ | साथै केवल कार र स्कीको लागि उपयुक्त स्थान पहिचान गरी थप आकर्षक बनाउन सकिन्छ | होटेल व्यवसायीले थकाली कला र संस्कृति झल्किने रिसोर्ट बनाए सुनमा सुगन्ध थपिनेछ | उच्च उचाइमा हुने स्थानीय ‘अर्गानिक’ तथा अत्यन्तै पौष्टिक खाना ‘हिमालयन सुपरफुड ‘ यो क्षेत्र र थकाली समुदायको अर्को थप बिशेषता हो | उपल्लो मुस्ताङ्गको बिशेषता अनुरुप उच्च उचाइ तथा बिशिष्ट भू-बनौट आधारित पर्यटक प्रबर्धन गर्ने योजना पनि साथसाथै कार्यन्वयन गर्नु पर्छ | मुस्ताङ्गको जस्तो बिचित्र र रमणीय भू-बनोट देशको अर्को ठाउमा छैन | पूर्व पश्चिमको मध्ये भागमा पर्ने यो क्षेत्र वास्तब मै पर्यटकीय हिसाबले बिशिष्ट र बेजोड छ | यो क्षेत्रलाई देशको सबै भन्दा रमणीय र लोकप्रिय पर्यटन गन्तब्य बनाउन यस सम्बन्धि बृहत योजनाको खाका ‘मास्टर प्लान’ तयार गरी निजि क्षेत्र संग सहकार्य गर्दै आर्थिकश्रोतको पहिचान तथा परिचालनको काम थालनी गर्नु आवश्यक छ |

६. गण्डकी प्रदेशको राजधानी पोखराबाट केवल १४० कि मि को दुरीमा रहेको थासाङ्ग गाउ पालिकाको केन्द्र कोबाङ्ग सडक राम्रो बने जम्मा ३ घण्टाको यात्रा हुनेछ अर्थात् पोखराबाट भरतपुरको यात्रा जति मात्र | ३४५ कि. मि. सुनौली-कोरला मार्ग अन्तर्गत १८६ कि. मि. को बेनी-जोमसोम-कोराला खण्डको निर्माण तथा स्तरुन्नतिको काम भैरहेको छ भने बाग्लुङ्ग-सुनौली खण्डको पनि काम पनि सम्पन्न भएको छ | चीन-भारत जोड्ने उक्त राजमार्ग सरकारको प्राथमिकतामा परेको छ | साथै लामो समय सम्म बन्द रहेको कोरला नाका खुलाउन सन् २०१३ मा चिनिया सरकार संग सम्झौता भएको थियो | यो नाका चीनले खोले संगै सुनौली-कोरला राजमार्गको महत्वपुर्ण खण्डको रुपमा थाकखोला क्षेत्र पुन: स्थापित हुनेछ | एक ताका नुन मार्ग ‘साल्ट रोड’ ले चर्चित कोराला मार्ग तिब्बतमा भएको राजनैतिक घटनाक्रम र त्यसले निम्ताएको सुरक्षा व्यवस्थाका चुनौतीका कारण सन् १९४९ देखि चीनले एक तर्फी रुपमा बन्द गरेको थियो | त्यस लगत्तै सुस्ताएको व्यापारले यो क्षेत्र लामो समय सम्म ओझेलमा परेको थियो | तर उपल्लो मुस्ताङ्ग भ्रमणमा बिदेशीलाई लगाइएको प्रतिबन्ध १९९२ मा हटेपछि र मोटर बाटोको निर्माण संगै मुक्तिनाथ दर्शनका लागि बर्षेनी बढ्दै गएको आन्तरिक तथा भारतीय पर्यटकका कारण, यो क्षेत्र फेरी जिबन्त हुदै छ | वास्तबमा इतिहास दोहोरिने क्रममा छ ‘हिस्टोरी रिपिट्स इत्सेल्फ़’ |

सरकारले जल बिद्युत परियोजना मात्र अघि बढाए अन्य सबै पुर्बाधार निर्माणका लागि केन्द्रिय तथा प्रदेश सरकारको मुख ताकिरहनु पर्दैन | जल बिद्युतबाट आउने नियमित राजश्व ‘रोयल्टी’ र गिट्टी बालुवाबाट उठ्ने स्थानीय शुल्कले मात्र पनि माथि उल्लेख सबै योजनाहरु आफ्नै स्थानीय स्रोतले सम्पन्न गर्न सिकिन्छ | त्यसैले हामी सबैको बृहत साझा प्रयास मार्फत उक्त जल बिद्युत परियोजना सिघ्र निर्माण हुनुपर्छ | यौटै यो परियोजनाले सम्पूर्ण थाकखोला क्षेत्रको काया पलट हुनेछ र संसार भरि छरिएर रहेका थकाली स्वस्फुर्त रुपले आफ्नो थलोमा आफ्नो अस्तित्व स्थापित गर्न लालायित हुनेछन् |

कहिले कसो गरेको भ्रमण र संवादले उब्जाएको भावनाले आफ्नो ठाउँ प्रति एकछिन सोच्न र मनन गर्न प्रेरित त गर्न सक्छ तर ती मनोभावनाहरु अक्सर क्षणिक हुन्छन् (आउट अफ साइट आउट अफ माइन्ड) | मात्र भावनाले न संस्कृतिको प्रबर्धन गर्न सकिन्छ न आफ्नो क्षेत्रको दिगो बिकासमा टेवा दिन सकिन्छ | न अनुदान र चन्दाका भरमा विकास र परिवर्तन सम्भब र दिगो हुन सक्छ | मनुष्यको रुचि र दृष्टि उत्प्रेरणाले निर्देशित गर्छ भने आर्थिक उत्प्रेरणा (फ़ाइनान्सिअल इन्सेन्टिभ) सबै भन्दा प्रभावकारी हुन्छ | अपार सम्भावना बोकेको आफ्नो पुर्खेउली थलोमा तत्काल भौतिक रुपमा स्थानान्तर हुन सम्बभ नभएपनि, कानुनी हैसियत पुनर्स्थापन गर्न बिलम्ब गर्नु हुदैन | यसका लागि स्थानीयको सदभाव, सहयोग र दुरदर्शिता अत्यन्त महत्वपूर्ण हुनेछ | करिब तेह्र हजारको थकाली समुदायको कुल जन संख्या थाकखोलामा सहजै अटाउन सकिन्छ र सो हुन सके यो क्षेत्रको जनजीवन पुनः जिवन्त बन्ने छ | हरेक थकालीको अस्तु अर्पण गर्ने र थकाली समुदायको चार देउता विराजमान हुने यो पबित्र स्थल येहुदीको (ज्युज) लागि जेरुसलम जस्तै थकाली समुदायको लागि पनि उत्तिकै पबित्र र महत्वपुर्ण छ | थकाली समुदायको भावी सन्ततिले आफ्नो थलोबाट आफ्नो अस्तित्व कहिले गुमाउनु नपरोस् भन्ने कामना सहित प्रत्येक थकालीको अस्तित्व र अधिकार सुरक्षित हुने गरी आवश्यक कदम चाल्न जरूरी छ |

शिक्षित र सम्बृद्ध समाज थकाली समुदायको परिकल्पना हो | साक्षेरताका आधारमा थकाली समुदाय अग्रस्थानमा रहेपनि, उच्च शिक्षाका हकमा भने निक्कै पछि परिसकेका छन् | युवाको योगदान बिना कुनै पनि समाज र राष्ट्र सम्बृद्ध हुन सक्दैन | राष्ट्र र समुदायको हरेक अवधारणा, प्रयास र बिकासमा युवाको सहभागिता हुनु पर्छ | त्यसैले थाक सात सयको बृहत बिकासको अवधारणा व्यवस्थित र संस्थागत गर्न थकाली युवाहरुको ठुलो भूमिका र जिम्मेवारी रहन्छ | तर शिक्षित युवा तयार पार्नु थकाली समुदायको सबै भन्दा कठिन चुनौती भएको छ | बेलैमा यस्ता गम्भीर परिस्थितिको मनन गरी सुधार नगरे थकाली समाजले ठुलो मूल्य चुकाउनु पर्नेछ | समाजले आज सम्म आर्जन गरेको प्रतिष्ठा, सफलता र सम्पन्नता यौटै पिढीले गुमाउन सक्छ जुन अत्यन्त दुर्भाग्य हुनेछ | एक्काइसौ सताब्दीमा उच्च शिक्षा बिना योग्य र सक्षम जनशक्ति उत्पादन गर्न सकिदैन | समाज र देशले शिक्षित र सक्षम युवा मागेका छ |

अमेरिका, बेलायत, युरोप र अस्ट्रेलियामा राम्रै संख्यामा थकाली समुदाय स्थापित भएका छन् | काठमान्डू बाहेकका अन्य ठाउँ भन्दा बिदेशमा थकाली समुदाय ठुलो भैसकेको अवस्था छ | बिदेशिएका थकाली परिवारका दोस्रो पुस्ताका युबाहरु ती बिकसित राष्ट्र कै नागरिक सरह पालनपोषण, शिक्षा, स्वस्थ र राज्यको सम्पूर्ण सुबिधा पाएका छन् | अब यो जनशक्तिलाई आफ्नो पुर्ख्यौली देश र समुदायको विकास र सम्वृद्धि संग जोड्ने बातावरण निर्माण गर्न अपरिहार्य छ | यो अवस्था केवल थकाली समुदायको लागि मात्र नभएर सम्पूर्ण राष्ट्र निर्माणको लागि आवश्यक छ | अन्यथा तिब्र युबा पलायनले देश नै बृद्धाश्रममा परिणत हुने गम्भीर जोखिम बढेको छ |

देशकै उत्कृष्ट जल बिधुत परियोजना निर्माण गर्न; पर्यटनका पुर्बधार तयार गरी यो क्षेत्रलाई देशको सबै भन्दा लोकप्रिय पर्यटन गन्तब्य बनाउन; थकाली कला र संस्कृति झल्कने पुर्बधार निर्माण गरी थकाली जनसमुदायको पबित्र धार्मिक थलोको रुपमा बिकसित गर्न; यहाँका मौलिक मठ मन्दिर र गुम्बाहरु र सो सम्बन्धि अन्य पुर्बधार निर्माण गरी अन्तरास्ट्रिय आधात्मिक केन्द्रका रुपमा बिकसित गर्न; सम्पूर्ण थकाली जनसमुदाय अटाउने जिवन्त हिमाली सहर बनाउन; र देशकै सबै भन्दा धनी, सम्पन्न र सम्बृद्ध गाउँ पालिकामा रुपान्तर गर्न सबै जुट्नु छ | थाकखोला क्षेत्रको सार्थक परिवर्तन र विकासमा जोडिएर थकालीको थलोलाई उत्कृष्ट हिमाली सहरमा रुपान्तर गर्ने पहल गर्नु पर्छ |

भनिन्छ इतिहास दोहोरिन्छ | बिगतमा थकाली समुदायको आर्थिक स्तरलाई उकासेको पुर्खौली थलोले पुन: अवसरका नयाँ ढोकाहरु उघारदै आफ्नो सन्ततिलाई फर्कन निम्तो दिइरहेको छ | आर्थिक हिसाबले प्रचुर सम्भावना बोकेको थलोमा सम्पूर्ण थकाली यस कारणले पनि फर्किन जरुरि छ | युवालाई उच्च शिक्षा प्रति प्रेरित गरी थकाली समुदायलाई शिक्षित, सक्षम, उदार र प्रगतिशील समाजमा रुपान्तर गर्न सके थकाली समुदायले हरेक विधा र क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरी देश बिकास र अन्तरजातीय सदभाब वढाउन सबल योगदान दिन सक्नेछ | यही पुस्ताले यो ऐतिहासिक जिम्मेवारी बहन गरी थाकखोलालाई देशकै उत्कृष्ट बस्ति तथा जिवन्त हिमाली सहरको रुपमा स्थापित गर्दै थकाली समुदायलाई सम्पन्न, समृद्ध, उदार र शिक्षित समाजमा रुपान्तर गर्नु छ | बिकसित तथा जिबन्त थाकखोला र शिक्षित तथा सम्पन्न समाज नै थकाली समुदायको आधार र भबिष्य हो |

  • बिश्वास गौचन, दर्बाङ्ग, म्याग्दी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2025 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!