Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan
November 16, 2022November 16, 2022

गगन थापाको मुटुमा पनि डरले ढ्यांग्रो ठोकेकै होस्!

Spread the love

ज्योतिषीको हवाला दिएर पचहत्तर बर्ष नाघिसकेका बृद्ध प्रधानमन्त्री शेर बहादुर देउबाले अर्को दुई पटक पनि प्रधानमन्त्री हुने सपना देखेका छन् | पाँच पटक सम्म प्रधानमन्त्री बने पनि देउबाले अहिले सम्म सम्झन लाएकको काम गरेको अनुभूति आम जनताले गरेका छैनन् | बरु आफ्नो हरेक कार्यकालमा केही न केही उत्फत्याङ्ग काम गरेको लामै सुची छ | पजेरो काण्ड, सांसद किनबेच, सत्ता टिकाउन अहिले सम्म कै जम्बो मन्त्रीमंडल गठन, पार्टी फुटाएको, द्वन्दकालमा संसद भंग, राजनैतिक स्वार्थको लागि सुशिला रायमाझी जस्ता प्रखर तथा निष्ठावान प्रधानन्यायधिश उपर माहाअभियोग, लेनदेनको क्रममा प्रधानन्यायाधिशको जेठानलाई मन्त्रि बनाएको, अर्का प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई पनि महाअभियोग, अर्थमन्त्रीको लहडमा राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गर्ने असफल प्रयास, बजेट निर्माणको क्रममा अर्थमन्त्री बाट भएका अनैतिक क्रियाकलाप बाबजुत अर्थमन्त्रीमा पुनर्स्थापित गरेको आदि इत्यादि जस्ता आरोप तथा निर्णय बाट धेरै आलोचित छन् | | सात पटक प्रधानमन्त्रि बने भने पाँच पटक प्रधानमन्त्रि बनेका गिरिजा र सुर्य बहादुरलाई उछन्ने मात्र छैनन् राणा शासन पछि सबै भन्दा लामो अवधि प्रधानमन्त्रि बन्ने सम्भबत एक मात्र भाग्यशाली नेता पनि बन्ने छन् | तर देउबाको यो व्यक्तिगत उपलब्धि तथा आशक्ति नै नेपालको दुर्भाग्य हो |

गिरिजा प्रसाद कोइरालाले सत्तामा पुग्न, टिक्न र परिवार भित्रै उत्तराधिकारी स्थापित गर्न सबै किसिमका राजनैतिक दाउपेच गरे | उनले पार्टीबाट गणेशमानलाई पाखा लगाउने, अत्यन्तै लोकप्रियताका बाबजुत मुलुकको राजनैतिक दिशा नै बदल्ने गरेर नेता कृष्ण प्रसाद भट्टराईलाई षडयन्त्रपूर्ण ढंगले निर्वाचनमा हराएर प्रधानमन्त्री दौढ़बाट बन्चित गर्ने, सत्ता जोगाउन बहुमतको संसद भंग गर्ने, पार्टी सभापति र प्रधानमन्त्रिको जिम्मेवारी बारे आफ्नो सुबिधा अनुसार फरक फरक निर्णय गर्ने जस्ता दुरगामी प्रकृतिका थुप्रै गलत राजनैतिक अभ्यास सुरवात गरे | साथै राष्ट्रपति बन्ने आशक्तिमा मावोबादी संगको हिमचिम, छोरीलाई आफ्नो उत्तराधिकारी बनाउने असफल प्रयास र अशक्त भएर मृतुशैयामा थल्लिदा पनि शक्ति केन्द्रबाट अलग नहुने आत्म केन्द्रित चरित्र प्रदर्शन गरेर पार्टी भन्दा माथि उठेर राष्ट्रको नेता बन्ने कयौं पटक अवसर पाउँदा पनि व्यक्तिगत स्वार्थले गर्दा बन्न सकेनन् |

आफ्नो दाइ बिपी कोइरालाले गिरिजालाई हवल्दारको संज्ञा दिएको कुरा बिद्धार्थी कालमा धेरै पटक सुनेका थियौं, साँचो हो या झुट हो यकिन छैन | तर बिपी धेरै बाँचेको भए, गणेशमान र कृष्ण प्रसाद भट्टराई कै नियति भोग्ने थिए | गिरिजाको द्वेष, षडयन्त्र, स्वार्थ र चतुरपन सामु बिपीको बौद्धिक क्षमता, उंचाई र लोकप्रियता सम्भबत: निरिह साबित हुने थियो | हाम्रो देशको राजनीतिमा गिरिजा, देउबा, ओली तथा प्रचण्ड जस्ता व्यक्ति र प्रबृत्ति नै हाबी हुन्छ र देशको राजनीति यिनीहरु कै वरीपरी घुमिरहन्छ | देशको वास्तविक राजनैतिक दुरदर्शा यही हो |

जुन मुद्धा लिएर गिरिजा बिरुद्ध पार्टी भित्र संघर्ष गरे, स्वं पार्टी सभापति र देशको प्रधानमन्त्री हुँदा देउबाले त्यही गिरिजा प्रवृतिलाई निरन्तरता दिएका छन् | महाधिबेशनबाट निर्वाचित भएका तर फरक सोच राख्ने आफ्ना आलोचकलाई सीमान्तकृत गर्ने, पार्टीको संस्थागत संरचनालाई अवमुल्यन गर्ने र आफ्ना आसेपासे र परिवारवादलाई बढावा दिने गरेका छन् | उनको पछिल्लो अभिव्यक्ति तथा कार्यशैली हेर्दा जिबनको अन्तिम समय सम्म शक्तिको त्यान्द्रो समाएर झुन्डिरहने गिरिजा प्रवृतिलाई निरन्तरता दिने सुरमा देखिन्छन् |

आज राजनीति र राजनैतिक नेतृत्व राजनैतिक चिन्तन र आदर्श बिहिन छ | जनता प्रतिको चाँसो र देश प्रतिको  जिम्मेवारबोध हराएको छ | अप्ठेरो पर्दा, बिपक्षमा बस्दा र भोट चाहिँदा मात्र जनता र देश प्रति जिम्मेवार भएको नाटक मन्चन हुन्छ | सत्ताको लागि संसदमा चाहिने संख्या नै एक मात्र सर्बोच्च राजनैतिक उदेश्य भएको छ | सो लक्ष प्राप्तिको लागि, जो कोही जे पनि गर्न तयार छ | जनता र देशको हितमा केही मुर्त काम गरेर स्वस्फुर्त जनसमर्थनको आधारमा पार्टीलाई जिताउछु भन्ने सोचबाट स्खलित भएर जति पैसा खर्च गरेर भए पनि निर्वाचित हुने दौढ़मा सबै नेतृत्ववर्ग र ठुला पार्टीहरु देखिन्छन् | यस्तो निर्वाचन शैली, राजनैतिक पद्दति र संस्कारले देश कहिले उभो लाग्ला ?

हरेक सार्बजनिक पद लिलाममा छ | बिगतमा सार्बजनिक पदमा नियुक्तिको लागि कम्तिमा आफ्नै पार्टीको समर्थक वा शुभचिन्तक वा कार्यकर्ता हुनु पर्ने आधारभूत मापदण्ड हुन्थ्यो | तर अहिले बिरोधि पार्टी कै कार्यकर्ता भए पनि धेरै पैसा बुझाउन सके उसैले नियुक्ति वा निरन्तरता पाउने अचम्मको नयाँ प्रवृति देखिन थालेको छ | मुलुकमा भष्ट्राचार र बिकृति यती धेरै झ्याँगिएको छ कि राज्यको कुनै पनि संयन्त्रले दोषीहरुलाई कारबाई गर्न सक्दैन | बिगतका ठुला जनआन्दोलन केवल मुठ्ठीभरका नेताहरुलाई राज्य सत्तामा पुराउन र उनीहरुका आसेपासेलाई राज्यको स्रोत र साधनमा हालीमुहाली गराउन सिमित भएको अनुभूति भएको छ | देश कुशासन र भष्ट्राचारले आक्रान्त छ र व्यवस्था परिवर्तन संगै यस्ता ब्रिकृति झन् झ्यांगिदै छ | देशमा न्याय र जवाफदेहिता हराएको छ |

छयालीस सालको जनआन्दोलनले निर्दलीय व्यवस्थालाई प्रतिस्थापन गर्दै बहुदलिय राज्य प्रणाली स्थापित गर्यो | यो तीन दशकमा कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रिको राज्य प्रणाली बाहेक सबै राज्य व्यवस्थाको प्रयोग भयो | राजतन्त्रबाट प्रजातन्त्र हुँदै गणतन्त्र आउदा सम्म पनि विकास र सम्वृद्धि आएन, जनताको जीवनस्तरमा अर्थपूर्ण सुधार देखिएन | संविधान परिवर्तन भयो, राज्य व्यवस्था बदलियो, सरकार फेरियो तर नेतृत्व गर्ने वर्ग, प्रणाली, सोच र प्रवृति फेरिएन | जनताका प्रतिनिधिहरु जनता र देश प्रति जवाफदेही हुनु पर्नेमा आ-आफ्ना नेता र पार्टी प्रति उत्तरदायी हुने हाम्रो राजनैतिक संस्कारको कारण दलीयतन्त्र हाबी हुन गई जनता र देश प्राथमिकतामा पर्न सकेको छैन | गणतन्त्रको आवरणमा मुलुकमा दलीयतन्त्र र गुटतन्त्र हाबी भएको छ |

कर्मचारीको तलब खुवाउन पनि बिदेशीको आर्थिक सहयोग चाहिने अवस्था आएको छ भनेर सार्बजनीक अभिव्यक्ति दिने प्रधानमन्त्रीले नितान्त राजनैतिक स्वार्थको लागि बृद्ध भत्ताको उमेर हद ७० बर्ष बाट घटाएर ६५ बर्ष बनाई मुलुकलाई अरबौ रुपैयाको आर्थिक भार स्थायी रुपले थप्ने गैरजिम्मेवार निर्णय गर्ने पक्षमा छन् | मुलुकको शैक्षिक अवस्था चरम राजनीतिकरणको कारण अस्तव्यस्त हुदै गर्दा प्रधानमन्त्रीले भने नेबिसंघको युबाहरुलाई गाउँ गाउँका स्कुलमा नेबिसंघको संजाल फैलाउन निर्देशन दिएर कलिला बिधार्थी पढ्ने बिद्यालय जस्तो पबित्र स्थानलाई पनि दलीय राजनीतिको घिनलाग्दो थलो बनाउन उकासिरहेका छन् |

सत्ता टिकाउन अनुचित प्रक्रियाबाट राष्ट्रपतिको प्रयोग गरेर संसद भंग गर्न खोज्ने ओलीले प्रधानमन्त्रि हुँदा केरुङ्ग देखि काठमाडौँ आउने रेल कुस्मा पनि आउने भन्दै सोझा नेपाली जनतालाई बेकुफ बनाउदा सोझा दर्शकले तालि बजाएर रेलको परिकल्पना गरेका थिए | नेताको भाषण र गफले देश सम्बृद्ध हुने भए देश धेरै पहिले स्वित्जरल्याण्ड र सिंगापुर बनि सक्ने थियो | काठमाडौँ – केरुङ्ग चल्ने रेलले मुलुकलाई चीन होइन श्रीलंका चाँही पक्कै पुराउछ | अनि यस्ता अदुरदर्शी नेताहरु बाट राज्यले कस्तो सुसाशन र सम्वृद्धि अपेक्षा गर्ने?

चलचित्रको पात्र जस्तो कुनै पनि व्यक्ति सोह्रै आना गुणी र सोर्है आना बैगुणी हुदैन | हरेक व्यक्तिमा गुण र बैगुण दुवै हुन्छ, फरक सिर्फ मात्राको हो | आफ्नो लामो राजनैतिक जीवनमा यी पात्रहरुले केही राम्रा काम पनि अवश्य गरेका होलान | देवबा लगाएत ओली, प्रचण्ड आदि सबैको गुण बैगुण दुवै छन् | तर मुलुकको महत्वपुर्ण जिम्मेवारी निर्वाह गर्दा मुलुकलाई कति हित गरे कति अहित गरे, कति आफ्नो स्वार्थमा गरे कति राष्ट्रको हितमा गरे भन्ने दृष्टिकोण बाट समिक्षा गर्न न्यायोचित हुन्छ | शेर बहादुर हुन् वा केपी वोली हुन् वा प्रचण्ड नै हुन्, सबै कान चिरिएका जोगी प्रमाणित भैसकेका अवस्थामा अर्को पांच बर्ष पनि यिनीहरुलाई नै मुलुकको जिम्मेवारी सुम्पिने हो देश बिगतमा जस्तै गन्तब्यहिन हुने निश्चित छ |

आम नागरिकको सबै भन्दा महत्वपुर्ण अधिकार नै मतदान हो | २०७४ सालको निर्वाचनमा देउबा, प्रचण्ड र ओलीले कुल १३३,८६१ ल्याएर निर्वाचित भएका थिए | बिगत पांच बर्षको नेपालको भबिष्य तीन निर्वाचन क्षेत्रका कुल ०.४६ प्रतिशत जनताले निर्धारण गरेका थिए | अबको पांच बर्ष २ करोड ९१ लाख नेपालीको भबिष्य कोर्ने महत्वपुर्ण जिम्मेवारी अपेक्षाकृत रुपले डडेल्धुरा, झापा र गोर्खा जिल्लाका मतदाताहरुको  बढी छ | काठमाडौँ, धरान र धनगडीका १०९,४५३ जिम्मेवार मतदाताको सुझबुझको कारण बालेन, हर्क र गोपाल जस्ता सक्षम र स्वतन्त्र उम्मेदवार निर्वाचन भई यस अघि हुन नसकेको काम छोटो अवधि मै सुरु गरेर राजनैतिक नैराश्यता बीच केही आशा जगाइदिएका छन् |

स्थानिय चुनाबले राम्रा उम्मेदवारहरुको सम्भावना उघारेको छ र राम्रा व्यक्तिहरु पनि राजनीतिमा आउन सक्ने सकारात्मक बातावरण शृजना गरेको छ | मेयर बालेन र हर्कले हाल सम्मका मन्त्रीमंडल र संसदले राज्यबाट अरबौ रुपैया बराबरको तलब भत्ता लिएर पनि गर्न नसकेको काम तीन महिनाको तलब भत्ता बापत केवल डेढ लाख रुपैया बुझेर पहिलो सय दिनमा नै धेरै राम्रो कामको सुरुवात गरेर आम-जनतामा नयाँ उर्जा, उत्साह र आशा जगाइदिएका छन् |

त्यसैले त इन्द्र जात्रामा राष्ट्रपति बिध्या देबी भण्डारी र देउबाको उपस्थितिमा बालेनको जय जयकारको दृश्य हेर्न लाएकको थियो | हर्कको अभियानमा दैनिक सयौं नागरिक स्वस्फुर्त रुपले श्रमदान मार्फत जोडिरहेका छन् | नेपालको राजनैतिक इतिहासमा धेरै अपत्यारिला घटना घटेका छन् | राजनीति वृत्तका जिम्मेवार व्यक्तिले यो कुराको हेक्का राख्न जरुरि छ | आम-जनतालाई सधैं भरी हल्का रुपले लिने गल्ति नगरौं |

निर्वाचनको उम्मेदवारी हेर्दा नयाँ पुस्ता बाट गगन थापाले प्रधानमन्त्रि हुने क्षमता र हैसिएत राख्छन् र युबाहरु बीच लोकप्रिय पनि छन् | उनले त्यसै अनुरुप तयारी पनि गरेका छन् | स्वस्थमन्त्रिको छोटो अवधिमा पनि स्वस्थ क्षेत्रमा गगनले थुप्रै राम्रा काम गरेका थिए | नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीति र संस्थापन पक्षले यो जनआकान्क्षालाई त्यति सहज ढंग बाट अगाडी बढ्न दिने अवस्था भने छैन | किसुनजी बिरुद्ध गरिएको नियोजित अन्तरघात गगन बिरुद्ध पनि नदोहोरिएला भन्न सकिदैन | तर प्रधानमन्त्रिको आकान्क्षि गगनलाई पनि चुनाब जित्न सहज हुनु हुदैन | जति सुकै लोकप्रिय र सक्षम नेता भए पनि जनतालाई हल्का रुपले लिने छुट कसैलाई दिनु हुदैन | जनता जनार्दन हुन् भन्ने साश्वत तथ्य हरेक राजनैतिक पात्रलाई महसुस हुन आवश्यक छ | नतिजा नआउँदा सम्म उनको मुटुमा पनि निर्वाचित् हुने नहुने अनिश्चिताले ढ्यांग्रो थोकैकै होस् | यस्तो अनुभब र अनुभितीले  मात्र नेतालाई सचेत, परिपक्क र गम्भीर र जनता प्रति उत्तरदायी हुन प्रेरित गर्ने छ | एमाले भित्र हाललाई ओलीको विकल्प त के उत्तराधिकारी परिकल्पना गर्ने स्थिति पनि अकल्पनीय छ |

सकारात्मक परिवर्तन चाहने हो भने आम नेपालीले आफ्नो मतदानको शैली परिवर्तन गर्नु पर्छ | बिगतको मतदानले यथास्थितिबादलाई नै निरन्तरता दिएकोले मुलुक सम्बृद्ध हुन सकेन | स्थानीय निर्वाचनमा तीन स्थानमा देखिएको मतदानको नौलो प्रवृति र नतिजा संघिय तथा प्रदेशको चुनाबमा अझ सघन ढंगले निरन्तरता पाउनु पर्छ | मताधिकार मार्फत पुरातन शैली, परम्परागत सोच, अराजकता र राजनैतिक विशेषाधिकारको प्रवृति र बेथितिलाई चुनौती दिदै परिवर्तनको सुरुवात आफैबाट गर्नु पर्छ | गणतन्त्रलाई दलीयतन्त्र र गुटतन्त्र हुन बाट बचाउनु पर्छ | राजनैतिक हकदारिकताको मानसिकता र सामन्तबादी प्रवृतिलाई नयाँ मतदान शैलीले परास्त गर्नु पर्छ | जेलमा बिताएको बर्ष भजाएर बाचुन्जेल राजनीति गर्ने संस्कारलाई अन्त्य गरी उमेर काटेका बृद्ध नेताहरुलाई ससम्मान स्थायी रुपले बिश्राम दिनु पर्छ | नत्र असान्दर्भिक भैसकेका रामचन्द्र पौडेल र बामदेव गौतम जस्ता बृद्ध नेताले आफ्नो जिबन कालमा एक पटक मात्रै भए पनि देशको प्रधानमन्त्री हुनै पर्ने र माधव कुमार नेपालले पुनः प्रधानमन्त्री हुनु पर्ने नेपाली राजनैतिक हकदारिकताको ठेट मानसिकता तथा प्रवृतिको अन्त्य हुने छैन |

देशको संविधानले हरेक पांच बर्षमा एउटा नयाँ अवसर दिन्छ – मताधिकार मार्फत आफ्नो र देशको भबिष्य निर्धारण गर्ने | देउबा, ओली र प्रचण्ड प्रवृतिलाई विस्थापन गरेर नयाँ राजनैतिक पथ (कोर्स) स्थापित गर्ने महत्वपुर्ण अवसर हाम्रो सामु छ | देशले सधैं किन यस्ता नेताको भारि बोक्नु पर्ने? अनेकौं पटक जिताएर पठाए पनि सिन्का भाच्न नसकेका बृद्ध नेताहरुलाई पुन: निर्वाचित गराएर मुलुकलाई अर्को पाँच बर्ष यथास्थितिको बन्ढी बनाउनु हुदैन | गलत व्यक्तिलाई मत दिएर आम-नेपाली र मुलुकको अर्को पांच बर्ष खेर फाल्ने गल्ति दोर्हाउनु हुदैन | देशलाई सक्षम, निष्ठावान र दूरदर्शी जनताका सच्चा प्रतिनिधि चाहिएको छ | आउदो निर्वाचनमा धेरै भन्दा धेरै शिक्षित युबाहरुले नै जनताको प्रतिनिधित्व गरुन र नयाँ नेपाल निर्माणको वास्तविक प्रक्रियाको थालनी मंग्सिर ४ ले सुनिश्चित गर्न सकोस, शुभकामना !

Published on 16 November 2022 on Setopati

https://www.setopati.com/opinion/286769

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2025 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!