सानो छँदा राजारानी र देशभक्तिले भरिएको गीत र समाचार रेडियो नेपालबाट घंकिन्थ्यो | यति सानो रेडियोमा कसरी मान्छे अटाएको होला भनेर अचम्म लाग्थ्यो | राजसंस्था प्रति असिम श्रद्दा थियो | गाउँमा बिजुली थिएन, घरमा मत्तितेलको मधुरो टुकी बल्थ्यो तर बगाले परिवारको जिन्दगी रमाइलो र जिबन्त थियो |
६ बर्षको सानो उमेर देखि नै मुवाबुवाले हिडेर तीन दिन लाग्ने पोखरामा अवस्थित नेपाल आवासीय बिद्यालय (हाल गण्डकी आवासीय बिद्यालय) भर्ना गरिदिनु भयो | कुश्माबाट ग्यादी जाँदा फेदमा बग्ने मोदी खोलाको सानो पुल तर्नु पर्थ्यो | त्यसैले खोला तर्न ठाडो र लामो ओरालो र उकालो हिड्नु पर्थ्यो | हरेक पटक त्यहा पुग्दा कुश्माको बजार र पारि ग्यादी जोड्ने लामो पुलको कल्पना गर्थें | केहि बर्ष अगाडी त्यहा नेपाल कै अग्लो पुल बनेको रहेछ, छोरीछोरालाई देखाउन लगें | सानो उमेरमा कल्पना गरेको लामो र अग्लो पुल बन्न करिब चार दशक लागेछ | छुट्टीमा आउँदा जाँदा बुवाले मलाई बोक्ने भरियाको व्यवस्था गर्नु हुन्थ्यो | हिड्ने रहर लागे सम्म हिड्थे | राति सुत्नु अगाडी मधुरो टुकीको प्रकाशमा बुवाले तातो तोरीको तेलले गलेको मेरो खुट्टा मालिस गरिदिनु हुन्थ्यो | बिजुलीको पहिलो अनुभब चाहि पोखरा आएर मात्र भयो |
छयालीस सालको जनआन्दोलनमा म पनि पुरै होमिएँ | हामी जस्ता युवाले देशमा केही सकारात्मक र अर्थपूर्ण परिवर्तन चाहन्थ्यौं | आन्दोलन राजसंस्था बिरुद्ध थिएन, निर्दलीय व्यवस्था बिरुद्ध थियो | गल्लि गल्लिमा हुने आन्दोलनमा काठमाडौँ बासिन्दाले घर माथिबाट पानी छर्केर समर्थन र स्वागत गर्थे | राति चाहि बत्ति निभाएर आन्दोलनलाई निरन्तरता दिइन्थ्यो | रातभर बलेको टायरको खरानी र दिउसो आन्दोलनरत हुँदा घरघरबाट छर्केको पानीले जुत्ता कालाम्य हुन्थ्यो | जुत्ता देखेर जो कोहीले पनि आन्दोलनमा सरिक भएको कुरा सजिलै अनुमान लगाउथे | छ जना दिदीबहिनीको एक्लो भाइ भएकोले काठमाडौँ बसेका दिदी बहिनीले पीर गर्थे | गाउँमा फोन नभएकोले मुवाबुवा र अरु साना बहिनीहरुले चाँही चाल पाएनन् | म तेतिखेर टंगाल, नरदेवीमा नेवार दाइको घरमा बस्थे र खाना खान हरेक बिहान र साझ भोटेबहाल र पछि महाबौद्ध आफन्तको होटेलमा जान्थे | बिद्यार्थी जीवनमा बिजुलीको अभाब कहिले महसुस भएन |
प्रजातन्त्र पुनर्स्थापना पछिको पहिलो निर्वाचनमा जनताले उल्लासपुर्बक सहभागी जनाई नेपाली काँग्रेसलाई बहुमत दिलाए | गिरिजा प्रसाद कोइराला जेष्ठ २०४८ सालमा पहिलो निर्वाचित प्रधानमन्त्री बने | नयाँ व्यवस्था प्रति सबैको ठुलो अपेक्षा थियो | म चाँही फागुनमा सीए पढ्न भारत लांगे | सीएको प्रमाणपत्र लिएरै मात्र नेपाल फर्कने अठोट गरेको थिएँ | त्यसैले बीचमा गाउँबाट एक हप्ता लगाएर मुवाबुवा मलाई भेट्न मद्रास नै आउनु भयो | अठोट पुरा गर्दै तीन बर्ष पछि २०५२ श्रावनमा सीएको सर्टिफिकेट सहित नेपाल फर्कें | त्यस दिन नेपाल बन्द थियो, काकरभिट्टाबाट ब्रितामोड सम्म रिक्सामा आएँ | तीन बर्ष पछि देश फर्कदा बिजुली आपूर्ति दुरुस्त थियो |
त्यतिखेर मनमोहन अधिकारी प्रधानमन्त्री थिए | आन्तरिक कलहका कारण बहुमतको नेपाली काँग्रेसको सरकार कार्यकाल भन्दा डेढ बर्ष अगाडी नै ढलेर संसद बिघटन भई २०५१ साल कार्तिकमा दोस्रो निर्वाचन भएको थियो | वास्तबमा नेपाली काँग्रेस भित्रको आन्तरिक कलहले नै देशमा राजनैतिक अस्थिरताको बिउ रुपको थियो | गिरिजाको पहिलो सरकारले लिएको उदारीकरणको नीति मनमोहनले अगाडी बढाएका रहेछन् | सरकारी संस्थाहरु धमाधम निजीकरण हुदै थिए र मेरा सिए मित्र माहाप्रसाद अधिकारी निजिकरण बिभागका संयोजक थिए | देशको बित्तिय क्षेत्रमा चाहि नयाँ लहरै आएको रहेछ | नयाँ बैंक र बित्तिय संस्थाहरु खोलिएका थिए र खोलिने क्रममा थियो | साथीहरुले मोटर साइकल वित्त कम्पनीबाट कर्जा लिएर किनेको देख्दा आश्चर्य लागेको थियो | नयाँ राजनैतिक व्यवस्थाको प्रत्यक्ष सकारात्मक परिणाम चाँही देशको वित्तीय क्षेत्रमा आएको परिवर्तनले अनुभूति गरेको थिएँ | सात बर्ष पछि दशैंमा गाउँ फर्कदा बुवाले जेनेटर संचालन गरेर गाउँमा बिजुली वितरण गर्नु भएको रहेछ | हाम्रो गाउको लागि बिजुलीको यो पहिलो अनुभब थियो |
मनमोहन पछिको प्रधानमन्त्री शेर बहादुरको पालामा फागुन २०५२ बाट देशमा माओबादि हिंसात्मक द्वन्द सुरु भयो | देश दुई दशक भन्दा लामो राजनैतिक अस्थिरताको शिकार भयो | यति सम्म कि प्रजातन्त्र पुनर्स्थापनाको सात बर्षमा निर्दलीय पंचायत कालका दुई प्रधानमन्त्री लोकेन्द्र र सुर्य बहादुर पुन: पालैपालो केही महिनाका लागि प्रधानमन्त्री भए | जेठ २०५८ सालको राजपरिवार नरसंहार पछि देशको परिस्थिति थप जटिल, असुरक्षित, विकृत, निराशाजनक बन्दै गयो र आन्तरिक मामलामा बिदेशीहरु थप सक्रिय हुदै गए | २०५६ साल तिर केही समस्या देखिए पनि खिम्ती जलविद्युत आयोजना सम्पन्न भए संगै विद्युत आपूर्ति सहज भएको थियो |
दश बर्षे माओवादी द्वन्दकालको परिणाम बिबिध रुपमा देखियो | युवाहरु बैदेशिक रोजगारीमा जानु, उद्योग धन्दा र पर्यटन व्यवशाय धराशाही हुनु , ग्रामिण भेगबाट शहरमा व्यापक बसाइसराइ हुनु, अपराधिक गतिबिधि बढ्नु आदि द्वन्दकालको सिधा असर थियो | साथै स्रोत परिचालनको हकमा भने देशको सबै भन्दा महत्वपुर्ण जलस्रोत क्षेत्रमा नयाँ लगानी हुन सकेन | राज्य र निजि क्षेत्र दुवैले नचाहिदो जोखिम लिन सक्ने अवस्था थिएन |
अन्तत्वगत्व: माओवादी द्वन्दकाल मङ्सिर २०६३ सालमा अन्त्य भयो | तर लगत्तै देशले पुन: अर्को समस्याको सामना गर्नु पर्यो – विद्युत संकट | द्वन्दकालमा जलबिद्युतमा भएको शुन्य लगानी र अन्य बिबिध कारणले देशले अर्को एक दशक लामो चरम विद्युत संकट झेल्नु पर्यो | हिउदमा १८ घण्टा सम्मको बिजुली कटौती चुपचाप सहदै नेपाली जनताले द्वन्दकाललाई दोष दिएर अध्यारोमा बस्ने बानि बसालेका थिए | यस अवधिमा देशले बर्षेनी अरबौ रुपैयाको इन्भर्टर, ब्याट्री, जेनेटर, इन्धन आयात गरेको थियो र यसको ब्यापार निकै फस्टाएको थियो | संकट जति गम्भीर भयो त्यति चलखेल बढ्ने, ब्यापार बढ्ने, मुनाफा बढ्ने | द्वन्दकाल अन्त्य भए पनि उर्जा अभाब लगाएत अन्य बिबिध कारणले उद्योग तथा व्यवशाय पूर्ण क्षमतामा चल्न सक्ने अवस्था थिएन |
हिउदमा लामो समय बिजुली नहुदा दैनिकी सार्है कष्टकर हुन्थ्यो | बिजुली आउने समय अनुसार आम जनताले आफ्नो जिन्दगी ढालेका थिए | काठमाडौँको चिसो र लामो रातमा एकहोरो टोलाएर बस्दा शरीर शिथिल, दिमाग भाउन्य, मन शुन्य हुन्थ्यो | जताततै अन्धकार, मानौ देशलाई अध्यारोले निलेको छ | बिजुली बिनाको करिब पांच महिना लामो हिउद कठिन र बिरक्त लाग्थ्यो | बिरक्तिमा मान्छे सृजनशील र उत्पादनशिल हुन सक्दैन |
२०७३ सालको तिहारमा भने काठमाडौँ बासीले एक दशक पछि भरमन बिजुली बाल्ने रहर पुरा गरे | नेपालीको लागि यो अकल्पनीय सुखद क्षण थियो | एक दशक लामो देशको पिडा एकाएक इतिहास बनेको थियो | यसै क्रममा देशले यौटा महानायक पायो – कुलमान घिसिङ्ग, नेपाल बिद्ध्युत प्राधिकरणका नयाँ प्रबन्ध निर्देशक | केवल डेढ महिना अगाडी मात्र भाद्र ३० गते उनले सो जिम्मेवारी पाएका थिए | साढे एक बर्ष अगाडी देशले बेहोरेको माहाभूकम्प तथा भारतले लगत्तै लगाएको नाकाबन्दीको कारण सबैजसो निर्माणाधीन जलविद्युत आयोजना सम्पन्न हुने अवधि अनिश्चितताको बाबजुद उनले मुलुकलाई अध्यारोमुक्त बनाएका थिए | त्यस दिन देखि काठमाडौँ र पोखरामा निर्बाध रुपले बिजुली उपलब्ध भए पनि ३१ बैशाख २०७५ को दिन चाँही उनले देशलाई लोडशेडिंग मुक्त घोषणा गरे |
नेपालको बिद्ध्युत आपूर्तिमा भारतबाट आयात गरिएको बिजुलीको महत्वपुर्ण हिस्सा छ | आ.ब. २०७२/७३ मा भारतवाट आयातित बिजुलीको हिस्सा ३४ प्रतिशत थियो भने कुलमानले जिम्मेवारी लिएको आ.ब. २०७३/७४ सो हिस्सा एक प्रतिशतले बढेर ३५ प्रतिशत पुगेको थियो | तर उनले आफ्नो व्यवसायिक कुशलताको प्रदर्शन गर्दै काठमाडौँ र पोखरालाई केवल डेढ महिना भित्रै लोडशेडिंग मुक्त बनाएका थिए | वास्तबमा सो आ.ब. भारतवाट अघिल्लो बर्षको दाँजोमा कुल बिजुलीको केवल ६ प्रतिशत मात्र अतिरिक्त बिद्ध्युत आपूर्ति भएको थियो | कुलमानले प्राधिकरणको बागडोर सम्हाल्नु अगाडिका बर्षहरु देखि नै भारतबाट सोही अनुपातमा बिद्ध्युत आयात भए पनि देशले एक दशक लामो बिद्ध्युत संकट भोग्नु परेको थियो | तसर्थ बिद्ध्युत संकट सामाधानको सम्पूर्ण श्रेय भारतलाई दिनु कुलमानको योगदानलाई अवमुल्यन गरे सरह हुनेछ |
उनले बागडोर सम्हाल्दा प्राधिकरणको अघिल्लो आ.ब.को घाटा ८ अरब ९० करोड रुपैया थियो | बर्षेनी घाटामा गएको प्राधिकरणको बिगतको कुल घाटा ५४ अरब ७८ करोड रुपैया पुगेको थियो | उनले जिम्मेवारी सम्हालेको बर्षबाट नै प्राधिकरणलाई दश बर्ष पछि पहिलो चोटी नाफामा लगेर बिगतको संचित घाटालाई पूर्ण रुपले हटाएर अहिले नाफा गर्ने सार्बजनिक संस्थानको रुपमा स्थापित गरेका छन् | यो बित्तिय अवस्था संगै प्राधिकरणको नयाँ पूर्वाधार तथा आयोजनामा लगानी गर्ने क्षमता उल्लेख्य अभिवृद्धि भएको छ | बिद्युतको पहुँच बिगत छ बर्षमा ६० प्रतिशतबाट ९३ प्रतिशत पुगेको छ | विद्युत चुहावट २५.७८ बाट ९.१ प्रतिशतमा झरेको छ | यी अविश्वसनीय सफलताले उनी एक अत्यन्त कुशल व्यवस्थापक र निष्ठावान व्यक्ति भएको प्रमाणित गर्छ |
बिजुली अभावले देशलाई एक दशक लामो न्यून आर्थिक वृद्धि दर र अधिक मुद्राश्फृतिको (स्ट्यागफ्लेशन) पंचायतकालिन अवस्थामा धेकेलेको थियो | तर २०७२ सालको माहाभूकम्प र भारततीय नाकाबन्दीको कारण ०.६ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर नियमित बिजुली आपूर्तिले बढाएको लगानी र पूर्वाधार पुनर्निर्माण संगै आ.ब. २०७३/७४ देखि मुलुकले लगातार तीन बर्ष सम्म उच्च आर्थिक वृद्धि दर हासिल गर्यो | बिगत चार दशकको नेपालको आर्थिक विश्लेषण गर्दा, देशले पहिलो चोटी लगातार तीन बर्ष मुद्रास्फृति दर भन्दा धेरै आर्थिक वृद्धि दर हासिल गरेको थियो | उनले सम्हाल्नु अगाडिका आठ बर्ष विद्युत उत्पादनको औसत बार्षिक वृद्धि दर एक प्रतिशत मात्र थियो भने उनी आएपछिको पहिलो तीन बर्षको औसत बार्षिक वृद्धि दर १४ प्रतिशत भन्दा धेरै थियो | यो आ.ब. मा देशको विद्युत उत्पादन क्षमता माथिल्लो तामाकोशी निर्माण सम्पन्न संगै दुई हजार मेगावाट भन्दा बढी पुगेको छ | थपिएको बिजुलीको सही तथा उच्चतम उपयोगले देशको आर्थिक वृद्धिमा महत्वपुर्ण टेवा पुराउने निश्चित छ | यसको पहिलो श्रेय कुलमानलाई नै |
लोडशेडिंग मुक्त हुनुमा राजनैतिक सदभाब तथा जलश्रोत मन्त्रिको व्यक्तिगत पहलको पनि उत्तिकै चर्चा हुने गरेको छ | राज्यका हरेक ठुला मुद्दामा राजनैतिक तथा प्रशासनिक सहयोग र समन्यवय अपरिहार्य छ | तर एक दशक लामो चरम बिजुली अभाबको अवधिमा हरेक जलस्रोत मन्त्री र प्रधानमन्त्रिले सार्बजनिक रुपमै लोडशेडिंग अन्त्य गर्ने प्रतिबद्धत्ता ब्यक्त नगरेका कहा हुन् र ! जनार्दन र प्रचण्ड अपबाद होइनन् | प्राधिकरण हाँक्ने कुशल र निष्ठावान नेतृत्व बिना जो सुकैले जस्तो सुकै प्रतिबद्धता ब्यक्त गरेको भए पनि अनेपेक्षित ढंगबाट लोडशेडिंग अन्त्य हुने अवस्था थिएन |
जल विद्युत क्षेत्रमा धेरै काम गर्न बाँकी रहे पनि यी उपलब्धिहरु साना होइनन, सुधारका गतिला संकेतहरु हुन् | नेताको भाषणले मुलुक सम्बृद्ध बन्ने भए नेपाल सम्भबत: विश्वको सबै भन्दा उत्कृष्ट र सम्बृद्ध मुलुक हुने थियो | सार्बजनिक पदमा बसेका एक व्यक्तिको कार्य कुशलता र निष्ठाले मेरो व्यक्तिगत जिन्दगीमा सबै भन्दा महत्वपुर्ण, गुणात्मक तथा सकारात्मक प्रभाब पारेका व्यक्ति कुलमान हुन् | उनी संग मेरो कुनै परिचय छैन तर मेरो दैनिकी सहज हुनुमा र मेरो उत्पादकत्व अभिवृद्धि हुनुमा उनको ठुलो योगदान छ | मेरो लागि जनार्दन र प्रचण्ड विद्युत आपूर्ति सहज हुने क्रममा संजोगले जोडिएका केवल अर्का राजनैतिक पात्र मात्र हुन् | मेरो असली नायक त कुलमान नै हुन् |
जनता कै बलिदानमा ठुला राजनैतिक परिवर्तन भए तर देशमा अर्थपूर्ण बदलाब आएको अहिले सम्म अनुभूति भएको छैन | नेपाली जनताका बिकासका चाहनाहरु सामान्य छन् | प्रजातन्त्र पुनर्स्थापना पछिको तीन दशक सम्म पनि बिकासका आधारभूत आवश्यकता पुरा नहुनु दुर्भाग्य हो | बिहान घरबाट निस्किदा र बेलुकी घर फर्कदा नितान्त व्यक्तिगत जोड घटाउ बाहेक राष्ट्रलाई जोडेर प्रफुल्ल हुने अवस्थाको अनुभूति अहिले सम्म हुन सकेको छैन | तर कहिले काही बिगतको अवस्था सम्झदा आज घर अध्यारो छैन भन्ने सामान्य बोधले पनि मन उज्यालो र हल्का हुन्छ | घर फर्के पछि परिवारसंग गुणिलो समय बिताउन पाइएको छ | हेर्दा सामान्य लाग्ने यस्ता बिषय मनोविज्ञानको हिसाबले अत्यन्त गहन र गम्भीर छन् | बिजुली संकटको एक दशकले कति नेपालीको जिबन वास्तबमै अन्धकार भएको होला?
यौटै व्यक्तिको सोच, क्षमता र निष्ठाले समाज र राष्ट्रमा गर्न सकिने सकारात्मक परिवर्तनको प्रतिबिम्ब हो कुलमान | अत्यन्त सम्भावना बोकेको देशको जल विद्युत क्षेत्रले कुलमान पाएको छ । मेरो देशले सबै क्षेत्रमा कुलमान पायोस । मेरै पालामा सम्बृद्ध नेपाल देख्न मात्र होइन बाँच्न पनि पाइयोस् । कुलमानले नेपाल विद्युत प्राधिकरणको बागडोर सम्हालेको आज तीन वर्ष पुगेको छ र त देश उज्यालो छ, मेरो लागि आजको दिन कुलमान दिवस ।
प्रथम संस्करण २०७६ साल भाद्र ३० गते अनलाइन खबरमा प्रकाशित