असीको दशक देखि नेपालमा भिडियो मार्फत फिल्म प्रदर्शन गर्ने अभ्यास सुरु भएको थियो | पोखराको सिनेमा घरमा धर्मेन्द्र अभिनित सिनेमा देखाउन रोक थियो, त्यसैले धर्मेन्द्र र हेमा मालिनी अभिनित हिन्दी सिनेमा “अलिबाबा और चालिश चोर” भिडियोमा हेरेको थिएँ | त्यो चलचित्रको सबै भन्दा रोचक र नबिर्सने शब्द “खुल्जा सिमसिम” थियो | चालिस जना चोरको नाइकेले “खुल्जा सिमसिम” भन्दा आफ्नो गुफाको अजंगको बिशाल द्वार आफै खुल्थ्यो | अहिले कम्प्युटर देखि विभिन्न प्रयोजनको लागि प्रयोग गरिने पासवर्ड जस्तै खुल्जा सिमसिम पनि गुफाको द्वार खोल्ने अजिबको पासवर्ड थियो | लामो समय सम्म सो रोचक शब्द जिब्रोमा झुन्दिएको अझै सम्झना छ |
बयालीस सालमा एसएलसीको परिक्षा दिए पछि केही समय गाउँमा बस्दा डाइमन्द शम्सेरको सेतो बाघ र बसन्ती उपन्यास पढेको थिएँ | नेपालको उत्कृष्ट रचना मध्यका यी दुवै उपन्यासको अन्त्य वियोगान्त थियो, त्यसैले केही दिन सम्म मन बिरक्तिएको थियो | | नेपालको इतिहासको विभिन्न कालखण्डमा केही महिला पात्रले मुलुकको राजनैतिक अवस्थाको दिशा नै निर्दिष्ट हुने गरी कसरी राज्य संचालनमा प्रमुख भूमिका निर्वाह गरेका थिए भन्ने घटना र प्रसङ्ग उक्त उपन्यासमा उल्लेख गरिएको छ | बि. स. २००७ सालमा राणा शासनको अन्त्य पछि बिगत सात दशकको विभिन्न कालखण्डमा केही राजा र अनेकौं व्यक्तिहरु प्रधानमन्त्री भए | ती कार्यकारीहरु मध्य केहीका अर्धांगिनी चाँही राज्य संचालनमा हाबी भएको भनेर अलि बढी चर्चित छन् | निबर्तमान प्रधानमन्त्री देउबाको सत्र महिने पछिल्लो कार्यकालमा पनि त्यस्तै झल्को दिने गरी नेपालको राजनीति, सत्ता व्यवस्थापन र राज्य संचालन निर्देशित भएको परिदृश अनुभूति भएको छ |
ओलीको राजनैतिक अदुरदर्शिता, अहंता र आत्माकेंद्रित मनोवृत्तिको कारण बिना कुनै जनाधार र अपेक्षा मावोबादीको समर्थनमा देउबा पाँचौ पटक प्रधानमन्त्री बन्न पुगे | सत्र महिने अवधीमा अर्थतन्त्र र सुशासनको कडीमा सरकार पूर्णरुपले असफल रह्यो | विदेश बाट आएको अबैध रकम रोक्दा राष्ट्र बैंकका गभर्नरलाई गरिएको असफल निलम्बन प्रयास, बजेट तयारीको अन्तिम दिनमा अबैध व्यक्तिलाई करको दायरा परिवर्तन गर्न दिइएको घटना र सय किलोवाट आवर भन्दा धेरै क्षमताको इभिमा भन्सार बढाएर सय किलोवाट आवर सम्मको क्षमताको इभिमा निरन्तरता दिइएको बिशेष भन्सार छुट जस्ता घटना क्रमले ठुलो आर्थिक चलखेल भएको अनुमान सहजै लगाउन सकिन्छ | यसको अलावा सरकारले नियुक्ति गर्ने सम्भबत: सबै पद लिलाममा थिए | यस्तै प्रवृति हाबी रहे कुनै दिन राष्ट्रपतिको पद पनि लिलाममा चढे अनौठो मान्नु पर्दैन | सुशासनको हिसाबले देउबाको सत्र महिने सरकार अत्यन्त अत्यासलाग्दो र विकृत थियो |
पुष दस गते नेपाल लिटरेचर फेस्टिभलमा सहभागी हुन पोखरा जाने क्रममा जहाजको अन्तिम तेस्रो सिटमा बसेको थिएँ | सो दिन राष्ट्रपतिले प्रधानमन्त्री पदको लागी पार्टीहरुलाई दाबि गर्न दिएको अन्तिम दिन थियो | त्यसैले बिहान देखि नै सो समाचार पछ्याई रहेको थिएँ | पछाडीबाट कुनै परिचित आवाज फोनबाट प्रचण्डको पछिल्लो अपडेट लिदै गरेको सुने | उनी नेपाली कांग्रेसका माहामन्त्री गगन थापा थिए | गगनले मोबाइल बाट डाक्टर भनेर सम्बोधन गर्दै पछिल्लो घटनाक्रमको खबर लिदै थिए | हाम्रो पोखरा उडान हुनु अगाडी नै, प्रधानमन्त्री पदको लागि सहमति हुन नसकेर प्रचण्ड बालुवाटारबाट हिडिसकेका थिए | मुलुक कै सबै भन्दा ठुलो दलका माहामन्त्री जस्ता व्यक्तिले अत्यन्तै महत्वपुर्ण तथा गम्भीर राजनैतिक बिषयमा आफ्नै पार्टी र सभापतिको निर्णय बारे बुझ्न कुनै तेस्रो व्यक्तिलाई सम्पर्क गरेको देखेर अनौठो लागेको थियो | पछि सोही कार्यक्रममा गगनले आफु पार्टीको माहामन्त्री भएर पनि सरकार निर्माणको सम्पूर्ण प्रक्रियाबाट अलग्याइएको तथ्य स्वीकार्दै अत्यन्तै अपमानित भएको अभिव्यक्ति दिएका थिए |
प्रजातन्त्रको धरोहर पार्टीको रुपमा स्थापित राजनैतिक दल भित्रको यस्तो अप्रजातान्त्रिक तथा संकीर्ण शैलीले देश र जनताको अलावा सबै भन्दा धेरै हानी त आफै र आफ्नो पार्टीलाई नै पुराएको छ | गगन र विश्व प्रकाश जस्ता लोकप्रिय र प्रभावशाली नेता तथा माहामन्त्रीलाई भूमिकाहीन बनाएर र संथागत प्रणालीलाई पंगु बनाएर सानो गुटले चलाएको पार्टी र सरकारले भोग्ने नियति यही हो | नेपालको प्रजातान्त्रिक अभ्यासको लामो इतिहास बोकेको पार्टी केही आत्माकेंद्रित स्वार्थि नेता, परिवारवाद र चरम भष्ट्राचारको कारणले गर्दा लोकप्रियता घट्दो छ | राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता युबा केन्द्रित नयाँ पार्टीको उदय नेपाली कांग्रेस र एमाले जस्ता पुराना ठुला पार्टी प्रतिको आम-बितृष्णाको कारण भएको भन्दा अतिशयुक्ति नहोला |
अप्रत्यासित ढंगबाट सत्ताबाट बाहिरिनु परेको झोकमा रबि लामिछानेलाई उचालेर प्रधानमन्त्री बनाउने खेलमा जुटेको खबरले चर्चा पायो | राजनीतिमा होमिएको एक बर्ष नबिते पनि धेरै सुझबुझ र राजनैतिक परिपक्वता प्रदर्शन गर्दै यस्तो फोहोरी र घातक राजनैतिक खेलमा फसेनन् | राजेन्द्र लिंग्देललाई पनि सो प्रस्ताब गरिएको बारे निक्कै चर्चा चल्यो | तर लिंग्देल कमल थापा जस्तो अवसरबादी, आत्माकेंद्रित, अलोकतान्त्रिक र हकदारीताको मानसिकता बोकेका रुन्चे प्रवृतिको व्यक्ति होइनन् | उनी तल्लो तहबाट संघर्ष गर्दै गैरराजनैतिक परिवेश बाट उदाएका आशाजनक नेता हुन् |
संसदीय प्रणाली अन्तर्गत सरकार बाहिरको ठुलो पार्टीको हैसिएतले बिपक्षीमा नबसेर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरी संसदलाई बिपक्षीहीन बनाउनु देउबाको पद प्रतिको आशक्ति र सरकार निर्माणमा बिदेशी शक्तिको सक्रिएता सहजै आंकलन गर्न सकिन्छ | धेरै पटक प्रधानमन्त्री भएकै नाताले देउबाको अन्तरपार्टी व्यवस्थापन लगाएत रणनैतिक क्षमताको चर्चा हुने गरे पनि गठबन्धन टुटे पछि मिथ्या सिद्ध भएको छ | अन्तरराष्ट्रिय कार्यक्रम तथा अन्तरवार्तामा देशको प्रधानमन्त्रीको रुपमा देउबाको सहभागीता तथा अन्तरक्रियाले त हरेक पटक देशलाई नै लज्जाबोध गराएको छ | धेरै पटक प्रधानमन्त्री हुने भाग्यमानी नेताको उपमा बाहेक अन्य कुनै बिशेष्टता उनमा देखिएन |
हदै सम्मको अनुत्तरदार्यी भए पनि, असक्षम भए पनि, भ्रष्ट भए पनि र मुलुकलाई गम्भीर हानी पुराए पनि बाराम्बार उही नेतालाई निर्वाचित गरिरहने, उही प्रवृतिलाई पुरस्कृत गरिरहने र उही संस्कारलाई निरन्तरता दिइरहने कस्तो विकृत परिवेश र अत्यासलाग्दो बाध्यता? यस्तो विकृत पद्दतिले नविनतम सोच र सकारात्मक विचार होइन अधिनायकबाद जन्माउछ | त्यसैले त जनता संधैं उपेक्षित छन् भने सिमित बर्गले बर्षौं देखि राज्यको निर्वाद रुपले दोहन गरिरहेका छन् | मुलुक रुपान्तर हुन हामी कहिले रुपान्तर हुने? आफै परिवर्तन नभए सम्म मुलुक परिवर्तन हुदैन भन्ने अनुभूति हुँदा हुदै आफ्नो र देशको परिवर्तनको लागि हामी किन परिवर्तन हुन सकेका छैनौं?
व्यवस्था परिवर्तन संगै भष्ट्राचार दिन प्रतिदिन झ्याङ्गिएको छ | कुनै सार्बजनिक संस्था तथा प्रणाली छैन जँहा भष्ट्राचार नहोस् | राज्य संचालनका हरेक अंग र क्षेत्रमा भष्ट्राचार संस्थागत भएको छ | जनताले सरकार बाट पाउने आधारभूत सेवा तथा सुबिधामा भष्ट्राचार छ | भष्ट्राचार नियन्त्रण गर्ने निकायमा झन् धेरै भष्ट्राचार छ | कुनै यस्तो प्रभावकारी संस्था तथा माध्यम छैन जसले भष्ट्राचार न्यूनीकरण गर्न सकोस् | राज्य संचालनमा उत्तरदायित्व हराएको छ | भष्ट्राचारी उग्र, संगठित र भयानक भएका छन् |
राजनैतिक शक्ति र पैसाको आडमा जनताको अनन्त शक्तिलाई अवमुल्यन गरे ढिलो चांडो आफ्नो दुष्कर्मको परिणाम अवश्य भोग्नु पर्छ | जनतालाई सधै रैती कै रुपमा हेर्ने प्रवृति र हकदारिताको मानसिकताले एकदिन गम्भीर दुर्घटना निम्त्याउन सक्छ | समय, परिस्थिति, जनचेतना र परिवेश परिवर्तनशील छ, अति भए एक दिन श्रीलंकामा जस्तो जनता आफैले त्यस्ता प्रवृति, मानसिकता, नेता र दललाई कारबाही गर्ने छन् |
रवि लामीछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले बदलिँदो राजनैतिक परिस्थिति र जनाधार प्रतिबिम्बित गरेको छ | अत्यन्तै लोकप्रियताका बाबजुत गगनले आफ्नो तीन दशकको सक्रिय राजनैतिक जीवनमा एक पटक मात्र सात महिने स्वस्थमन्त्री हुने अवसर पाउँदा रवि भने राजनीतिमा होमिएको केवल सात महिनामा नै शक्तिशाली गृहमन्त्री सहितको उपप्रधानमन्त्री बनेका छन् | त्यसैले चन्द्रमाको प्रकाश रुपी नेता र पार्टीले सुर्यको प्रकाश रुपी जनताको प्रचण्ड शक्तिलाई अवमुल्यन गरे ढिलो चांडो नेता मात्र होइन पार्टी पनि बढारिन सक्छ | भारतमा राष्ट्रिय कांग्रेस पार्टीको क्रमिक पतन र आम आदमी पार्टीको क्रमिक उदय यसका ज्वलन्त उदाहरण हुन् |
सस्तो लोकप्रियताको लागि वितरणमुखी बजेट ल्याई जनता माथि बर्षेनी ठुलो आर्थिक भार थोपार्न राजनैतिक पार्टी बीच उच्च प्रतिस्प्रद्धा हुनु राजनैतिक बिचलन तथा गैरजिम्मेवारीपनको पराकाष्ट हो | बिगत एक दशकमा भएका अर्थमन्त्रीको समिक्षा गर्दा रामशरण महत बाहेक कुनै पनि अर्थमन्त्रीले यो बिषयमा सुझबुझ देखाएको पाइएन | पछिल्लो चरणमा त बजेटको आकार र चालु खर्च यसरी बढेको छ की मानौं यसको कुनै अन्त्य छैन | लोकप्रिय बन्ने होडबाजीमा संरचनात्मक सुधारका अलोकप्रिय तथा कठोर उपायहरु अवलम्बन नगर्ने हो भने मुलुक गम्भीर आर्थिक दुर्घटना तिर उन्मुख हुने छ | प्रधानमन्त्री हुँदा कर्मचारीको तलब पनि ऋण लिएर खुवाने स्थिति छ भनेर भाषण गर्ने देउबा मुलुकको आर्थिक अवस्था र विकास बारे कहिले गम्भीर भएनन् र मुलुकको आर्थिक स्थायित्वमा गम्भीर भ्वाङ्ग पारेर सरकारबाट बाहिरिए | अब त लाग्छ देउबा जस्ता पात्र बाट सुधारको अपेक्षा गर्नु हामी जस्ता धेरथोर अर्थराजनीति बुझेको अर्थविदहरुको चरम बौलठ्ठीपन हो भने आम-नेपालीको दुर्भाग्य हो |
देशमा शिक्षाको अवस्था दयनीय छ | त्यसै पनि खस्केको र चरम राजनैतिकरणको शिकार भएको शिक्षा क्षेत्रलाई जिल्ला जिल्ला र गाउँ गाउँमा नेपाली बिद्धार्थी संघ बिस्तार गरेर थप धाराशायी बनाउन उकास्ने देउबा कसरी दुरदर्शी र जनताको नेता हुन सक्छन्? बिना गुणस्तरीय शिक्षा कुनै पनि राष्ट्र सम्बृद्ध भएको छैन | यस्तै शिक्षा प्रणाली रहने हो भने बिस बर्ष पछी पनि दैनिक सत्र सय नेपाली युबा कामको लागि र तीन सय नेपाली बिद्धार्थी पढाइको लागि विदेशिने अवस्थामा कुनै तात्विक परिवर्तन आउने छैन |
आमचुनाबमा लगातार छैठौं पटक निर्वाचित भए पनि र नेपाली कांग्रेसको सभापति भए पनि मुलुकको सम्वृद्धि र रुपान्तरणको लागि देउबा जस्ता राजनैतिक पात्रको सान्दर्भिकता हराइसकेको छ | कुनै काल खण्डमा गिरिजाको विकल्पको रुपमा नेपाली कांग्रेसलाई उनको आवश्यकता हुँदो हो तर वास्तबमा उनी गिरिजा भन्दा भिन्न थिएनन् | प्रधानमन्त्रीको रुपमा उनले नेतृत्व गरेको सरकारको निश्पक्ष बस्तुगत मुल्यांकन गर्ने हो भने मुलुकलाई उनको अपरिहार्यता र सान्दर्भिकता पुष्टाइ गर्ने कुनै आधार छैन | पुन: छ त के सातै पटक पनि प्रधानमन्त्री होलान् तर पांच पटक सम्म प्रधानमन्त्री हुँदा पनि जननेता हुन नसकेका गिरिजा र सुर्य बहादुर भन्दा पृथक हुने छैनन् |
देउबा धेरै पटक प्रधानमन्त्री हुने एक भाग्यमानी प्रधानमन्त्री त भए तर आम जनताको प्रधानमन्त्री बन्न सकेनन् | हाम्रो विकृत राजनैतिक प्रणाली र चरित्रको एक सामान्य प्रतिनिधि पात्र मात्र बने, बिशेष केही बनेनन् | गुटको नाइके बने तर पार्टीको नेता बन्न सकेनन् | डडेल्धुराको नेता बने, राष्ट्रको नेता बन्न सकेनन् | अधिनायक बने तर युबाहरुको प्रेरणा तथा अभिभाबक बन्न सकेनन् |
चौथो पटक प्रधामन्त्री हुँदा साझा सवाल टिभी कार्यक्रममा इञ्जिनिएर सागर ढकालले देउबालाई प्रश्न गरेका थिए “तपाइँ कहिले बिस्थापित हुने, अति निराश भैसक्यौं हामी, प्रधामन्त्रीको लागि मात्र प्रधानमन्त्री होइन जनताको लागि तपाइँ कहिले प्रधानमन्त्री हुने?” | वास्तब मै आम-नेपाली देउबा जस्ता राजनैतिक पात्र बाट आजित छन् | आम-नेपाली र बिशेष गरेर युबाहरुको यही अपेक्षालाई सम्बोधन गर्ने उदेश्य र नेपालका प्रधानमन्त्रीहरुको शिक्षा बारे देउबा माथि आफैले गरेको प्रश्नको जवाफ लिएर अक्सफोर्ड जस्तो विश्वको प्रसिद्ध विश्वबिद्यालयबाट स्नाकोत्तर डिग्री हासिल गरी सागर ढकाल प्रतिनिधि सभाको निर्वाचनमा देउबा संग भिड्न डडेल्धुरा पुगेका थिए | तर डडेल्धुराको मतदाताले देउबालाई नै प्रतिनिधि सभाको सदस्यमा पुन: निर्वाचित गराएर देश र जनतालाई अर्को पांच बर्ष गम्भीर राजनैतिक दायित्व थपिदिएका छन् | यो उमेरमा देउबाले वंशवादी राजनैतिक निरन्तरता तथा पारिवारिक महत्वकान्क्षा भन्दा माथि उठेर देश र जनताको लागि केही गर्ने न बिगतको कुनै उदाहरण छ न नैतिक आधार छ न क्षमता नै छ |
कतिपय अफ्रिकी मुलुकमा संबिधान नै परिवर्तन गरेर भए पनि तानासाह सरकार प्रमुखले आफ्नो अवधि लम्ब्याउने गरेको अभ्यास छ | जिम्बाब्वेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबे, सुडानका अपदस्त राष्ट्रपति बसिर र उगान्डाका राष्ट्रपति मुसेभेनी यही अभ्यासका केही उधाहरण हुन् | कतिपय अवस्थामा उमेरको कारणले शरीर र दिमागले काम गर्न छोडे पनि आफ्नो गुट, आसेपासे र परिवारको स्वार्थको कारणले पदमा जबर्जस्ति बस्न बाध्य गराई राज्यको स्रोत निर्वाद रुपले दोहन गरिन्छ | आम जनताले यस्तो अभ्यासको अनुभूति देउबाको पाँचौं पटकको प्रधानमन्त्रीको अवधिमा पनि गरे |
अन्तमा, “पांच बर्ष पछिको निर्वाचनमा उमेरले असी काटे पनि देउबा फेरी उठून | डडेल्धुरेले देउबालाई अत्याधिक मतान्तरले पुनः सात पटक लगातार निर्वाचित गरेर अर्को नयाँ रेकर्ड पनि बनाउन्! समानुपातिक निर्वाचन प्रणालीको आशय र मर्म नै उपहास हुने गरी प्रथम महिला र दोस्रो महिला लाई (गृहमन्त्रीको श्रीमती) समानुपातिक सुचिमा पहिलो र दोश्रो क्रम संख्यामा राख्ने बिकृति अभ्यासको सम्पूर्ण श्रेय नेपाली कांग्रेसलाई जाओस्! डडेल्धुरेलाई मात्र राज्यको स्रोत र शक्ति प्रतिको पहुँचको विशेषाधिकार सुरक्षित होस्! डडेल्धुरेको लागि सिंहदरबार पानी पँधेरो होस्! मलेशिया जाने निशुल्क सुबिधा डडेल्धुरे युवालाई मात्र सुरक्षित होस्! हेलिकप्टरमा चढ्ने खुबी भएको अधिनायक डडेल्धुरेलाई मात्र नसिब होस्! सागर ढकाल जस्ता उदाउँदो शिक्षित युबालाई डडेल्धुरेले कहिले अवसर प्रदान नगरोस्! देश बिग्रेर भए पनि डडेल्धुरा मात्र उन्नत र सम्बृद्ध होस् र मुलुक हारेर भए पनि दधेल्धुराले जितोस् | जनताको लागि बन्द हुने बालुवाटारको ढोका चाँही डडेल्धुरेको लागि मात्र सधैं खुल्जा सिमसिम होस्!”